दाङ जेठ ८ गते । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषाद्को आजको बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिनुभएको हो।

मन्त्री पन्थीका अनुसार सरकारले यही जेठ ११ गते बस्ने प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । बैठकले नीता पोखरेल अर्याललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा इञ्जिनियर छविराज पोखरेललाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।

विनियोजन विधेयकमा छलफल सुरु

लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले सामाजिक न्याय, स्वास्थ्य सेवा विस्तार, कृषि उत्पादन, रोजगारी सिर्जना र उद्यम विकासलाई बजेटको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रदेशसभा सदस्यहरूले सरकारले प्रस्तुत गरेका सिद्धान्त र प्राथमिकतामा समावेश गरिएका विषयहरू सकारात्मक भए पनि ती प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । बजेट कार्यान्वयन प्रणालीलाई बलियो बनाउनुपर्ने, योजनामा वित्तीय अनुशासन कायम गर्नुपर्ने तथा खर्च प्रणालीलाई पारदर्शी र नतिजामुखी बनाउन आवश्यक रहेको उहाँहरूको भनाइ थियो ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, भगवती अधिकारी, भुवनेश्वर चौधरी, तारा थापा, डिल्लिराज भुसाल, मीनाकुमारी श्रेष्ठ, वसन्ती न्यौपाने, यमबहादुर नेपाली सार्की, धनलक्ष्मी श्रेष्ठ, विष्णुप्रसाद पन्थीसहित १० जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिनुभएको छ । उहाँहरूले बजेट प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन सुझाव दिनुभएको थियो ।

प्रदेशसभाको बैठकमा शून्य समयमा दीलकुमारी बुढा, माया पुन, कृष्णाकुश्मा थारु र यमूना रोक्का तामाङले समसामयिक विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।