गण्डकी, जेठ ८ गते । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित गीतेन्द्रबाबु राई (जिवी) र छविलाल जोशीको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने आदेश गरेको छ । कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सहकारी ठगीतर्फको अभियोग दाबी कायम रहने तर अन्य मुद्दा अभियोग दाबी कायम नरहने गरी संशोधन गरिएको हो ।

उहाँका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले दिएको निवेदनमा लामिछानेसहित अन्य प्रतिवादीमाथि लगाइएको सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर तथा राष्ट्र बैंकसम्बन्धी कसुरअन्तर्गत अभियोग अब नलाग्ने गरी संशोधन हुने अदालतको आदेश छ । 

अदालतको पछिल्लो आदेशसँगै लामिछाने, सूर्यदर्शन प्रकरणका मुख्य अभियुक्त मानिएका जीबी राई (गितेन्द्रबाबु राई), पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूविरुद्ध अब सहकारी ठगीसम्बन्धी आरोप मात्रै कायम रहने भएको छ ।

यसअघि उहाँहरूमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा कसुरमा अभियोजन गरिएको थियो । सो प्रकरणमा अभियोग संशोधनको प्रक्रिया नयाँ सरकार गठनपछि सुरु भएको थियो ।

तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले सरकारी अनुसन्धान र उपलब्ध प्रमाणको पुनरावलोकनपछि सहकारी ठगीसम्बन्धी अभियोग कायम राख्दै सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप संशोधन गर्ने निर्णय गर्नुभएको थियो ।