काठमाडौँ, जेठ ८ गते । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा रवि लामिछानेसहितको ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ को दाबी हटाउन सरकारलाई अनुमति दिएको हो ।

न्यायाधीश हिमलाल बेलबासेको इजलासले अभियोगपत्र संशोधन गरी ‘सहकारी ठगी’ को मुद्दालाई मात्र निरन्तरता दिने गरी सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गर्ने आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘पीडित जाहेरवालाहरूको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु न्यायिक निरूपणको मूल विषयवस्तु रहेको र जाहेरवालाहरूले पनि सोही माग गरेको देखिन्छ ।’

अदालतले सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी रहिरहँदा प्रतिवादी र जाहेरवालाबीच मिलापत्र हुने वा रकम फिर्ता पाउने प्रक्रिया थप जटिल र कानुनी रूपमा समय लाग्ने देखिएकाले अभियोगपत्र संशोधन गर्न अनुमति दिएको हो ।

यसअघि तत्कालीन महान्यायाधिवक्ता सबिता गौतम भण्डारीले रविविरुद्धका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृत दिनुभएको थियो ।