काठमाडौँ, जेठ ८ गते । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पिपयनसिपमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित परिषद्को कर्भडहलमा आज शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–२ सेटले पराजित भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलको पहिलो सेट नेपालले जित्यो । त्यसपछि लगातार दुई सेट गुमाएको नेपालले चौथो सेट आफ्नो पक्षमा पा¥यो, तर खेलको पाँचौं तथा अन्तिम सेटमा पराजित भएपछि आयोजक देशको टिम पराजित हुन पुग्यो ।
पहिलो सेटमा २५–२० ले जितेको नेपालले त्यसपछि लगातार दुई सेट २५–२० र २५–१९ ले पछि प¥यो । खेलको चौंथो सेटमा नेपालले २५–२१ ले आफनो पक्षमा पारेपनि त्यसपछिको पाँचौ तथा अन्तिम सेट भारतले १५–९ ले जित्यो र नेपाल भारतसँग सँग पराजित हुन पुग्यो ।
घरेलु दर्शककको भरपुर साथ पाएको नेपालको खेल हेर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि सहभागी हुनुहुन्थ्यो । विभिन्न आठ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारतसँगै कीर्गिस्तान र माल्दिभ्स छन् । त्यस्तै समूह ‘बी’मा श्रीलङ्का, इरान, बङ्गलादेश र काजकिस्तान रहेका छन् । आजै सम्पन्न समूह ‘बी’को खेलमा इरानले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै जित हासिल गरेको छ । नेपालले अब कीर्गिस्तान र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।





