इस्लामावाद जेठ ८ गते । पश्चिम एसियामा भएको युद्धविरामलाई लिएर कुटनीतिक दबाबका बीच अमेरिका र इरानबीच प्रस्ताव आदानप्रदानपछि सकारात्मक वातावरण देखिएको र वार्ताको पहलका लागि पाकिस्तानका सेना प्रमुख असिम मुनिर शुक्रबार तेहरान प्रस्थान गर्नुभएको छ । पाकिस्तानका गृहमन्त्री मोहसिन नाक्वीले तेहरानमा लगातार तीन दिनसम्मको कूटनीतिक संवादपछि मुनिर इरान प्रस्थान गर्नुभएको हो ।
यस हप्ताको सुरुमा अघोषित भ्रमणमा इरान आइपुगेका नक्वीले राष्ट्रपति मसुद पेजेश्कियान र अन्य वरिष्ठ इरानी नेताहरूसँग बैठक गरिसक्नुभएको छ । इरानी र पाकिस्तानी सञ्चारमाध्यमका अनुसार उक्त छलफल तेहरान र वासिङ्टनबीचको मतभेदलाई कम गर्ने, जारी गतिरोध अन्त्य गर्ने र दीर्घकालीन क्षेत्रीय शान्ति र स्थिरता सुनिश्चित गर्ने संयन्त्रको विकास गर्ने विस्तृत प्रस्तावहरूमा केन्द्रित थियो।





