काठमाडौँ, जेठ ८ गते । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ । न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले थपिएको म्यादभित्र अनुसन्धान पूरा गर्न परमादेश जारी गर्दै बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएको हो ।

वीरगञ्ज पुगेका मेडिकल व्यवसायी प्रसाईँलाई जेठ ४ गते राति त्यहीबाट प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि उनलाई अनुसन्धानका लागि चार दिनको म्याद थप गर्न जिल्ला अदालत पर्साले अनुमति दिएको थियो ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसूरमा पर्सा जिल्ला अदालतबाट अनुसन्धानका लागि प्रहरीले म्याद थप अनुमति लिएको थियो ।

अदालतले चार दिन भित्र अनुसन्धानका सबै कार्य पूरा गरेर जिल्ला अदालत पर्सामा पेस गर्नु भनी जिल्ला प्रहरी कार्यालय पर्साको नाममा परमादेश जारी गरेको छ ।

प्रहरीले प्रसाईँमाथि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट दिएको अभिव्यक्तिले सार्वजनिक शिष्टाचारविरुद्ध घृणा र द्वेष फैलाउने, जातीय तथा साम्प्रदायिक सद्भावमा असर पुर्‍याउने तथा सरकारप्रति अवहेलना सिर्जना गर्ने खालको कार्यलाई बढावा दिएको आरोप लगाएको छ ।