सुनसरी, जेठ ८ गते । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले वर्तमान सरकारसँग मिलेर काम गर्न चाहेको बताउनुभएको छ । सुनसरी कोशी गाउँपालिका–१ सिटीहलमा आज नेपाली काङ्ग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कोशी प्रदेशस्तरी जरा अभियान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति थापाले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
नागरिकको जनजीविकासहित विभिन्न मुद्दामा नेपाली काङ्ग्रेसले सरकारसँग छलफल, संवाद गरेर कार्य गर्न चाहेको उहाँको भनाइ थियो । सरकारले सञ्चालन गरेको संविधान संशोधनको बहसमा काङ्ग्रेसको चित्त नबुझेको बताउनुहुँदै संविधान संशोधन परिपक्व ढङ्गले अगाडि बढाउनुपर्नेमा सभापति थापाले सुझाव दिनुभयो ।
कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले नेपाली काङ्ग्रेसका नेतृत्व र पार्टीबाट सरकारी पदधारण गरेको व्यक्तिबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा महामन्त्री गुरुराज घिमिरेले काङ्ग्रेस एक ढिक्का भएर अगाडि बढेको र यसलाई सबैको साझा कांग्रेस बनाउनका लागि सबैलाई आह्वान गर्नुभयो । उहाँले पार्टीभित्र रहेका गुटबन्दी अन्त्य भएको समेत बताउनुभयो ।





