काठमाडौं, असार १ गते । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको सुझाव अनुसार पार्टी अघि बढ्ने बताउनुभएको छ । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यलाई स्वागत गर्दै उहाँले कार्यदलको प्रतिवेदनबाट पार्टी अझ एकताबद्ध बनाउन बल पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।

पुनर्गठनको कार्ययोजना बनाउनकै लागि पार्टीले कार्यदल बनाएको भन्दै महासचिव पोखरेलले मातहतका कमिटीको सुझावको आधारमा पार्टी पुनर्गठन हुने बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘अहिले पार्टीले संस्थागत हिसाबले नै केही काम गर्न खोजेको छ। चुनावको समीक्षा गर्ने र पार्टीलाई पुनर्गठनको दिशामा कसरी अगाडि बढाउनुपर्दछ भन्ने विषयमा पार्टी पङ्क्तिको भावनाको प्रतिनिधित्व गर्दै पार्टी कार्यकर्ताहरूबाट सुझाव सङ्कलन गर्ने प्रक्रियामा छ । सुझावकै आधारमा निर्णय हुन्छ ।’

पार्टी अहिलेको अवस्थामा नयाँ ढङ्गले अगाडि बढ्नुपर्दछ भन्ने मान्यताको पक्षमा कार्यकर्ताहरु रहेको भन्दै ‘नयाँ ढङ्गले अगाडि बढ्ने कुरा स्वाभाविक हो । वैचारिक, राजनीतिक र सङ्गठनात्मक हिसाबले पार्टीलाई थप एकताबद्ध बनाउने काम गर्नुपर्छ । पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउनु नै अहिलेको आवश्यकता हो । यथास्थितिमा पार्टीलाई एकताबद्ध गर्न सम्भव छैन ।’ उनले पार्टीमा शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक रहेको बताउनुभयो ।

प्रचार विभागका पूर्वप्रमुख राजेन्द्र गौतमले आचार्यलाई कार्यभार हस्तान्तरण गर्नुभयो । विभागप्रमुख आचार्यले वस्तुनिष्ठ भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।