काठमाडौँ, असार १ गते । चीनको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेश विभाग प्रमुख शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच आज बेइजिङमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटपछि मन्त्री खनालले खुसी व्यक्त गर्दै सो अवसरमा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ ।

नेताद्वयबीच रास्वपा र सिपिसी सहकार्य तथा दुवै देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ । मन्त्री खनाल आफ्ना चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा आइतबारदेखि चीन भ्रमणमा हुनुहुन्छ ।
आज सोमबार बेइजिङमा भएको भेटवार्तामा प्रमुख लिउले सीपीसीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्न चाहेको बताउनुभएको छ । चीन–नेपाल सम्बन्धको विकासमा राजनीतिक दलहरूको योगदानबारे चर्चा गर्दै लिउले सीपीसीको अवधारणा र अनुभवहरू पनि सुनाउँदै जनताकेन्द्रित दर्शन र साहसिक आत्मसुधारको प्रतिबद्धतामा अनुभव बाँड्नुभएको छ ।
भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनालले ७० वर्ष लामो कूटनीतिक सम्बन्धमा नेपाल र चीनले एकअर्कालाई निरन्तर सम्मान, समान व्यवहार र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूमा आधारित मैत्रीपूर्ण सम्बन्ध विकास गरेको बताउनुभयो । उहाँले नेपालले एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्ने र कुनै पनि शक्तिलाई चीनविरोधी गतिविधिहरूका लागि आफ्नो क्षेत्र प्रयोग गर्न कहिल्यै नदिने पनि प्रस्ट पार्नुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले हासिल गरेको विकास र उपलब्धिहरूको कदर गर्दै नेपालले पनि वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन, जलविद्युत्, कृषि, संस्कृति र पर्यटनजस्ता क्षेत्रहरूमा सम्पर्क सञ्जाललाई अझ अगाडि बढाउन र पारस्परिक लाभदायक सहयोगलाई सुदृढ पार्न चीनसँग काम गर्न इच्छुक रहेको बताउनुभयो ।





