हेटौँडा, असार १ गते । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आज प्रस्तुत गर्नुभएको बजेटमा गुणस्तरीय शिक्षा, आधुनिक स्वास्थ्य सेवा, सामाजिक सुरक्षा तथा मानव विकाससम्बन्धी विभिन्न कार्यक्रम समेटिएका छन् ।

बजेटमा न्यून साक्षरता भएका स्थानीय तहमा शैक्षिक गुणस्तर सुधार, अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम र आवासीय शिक्षा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । शिक्षण सिकाइलाई प्रविधिमैत्री र परिणाममुखी बनाउन ‘स्मार्ट टिचिङ’ कार्यक्रम सुरु गरिने भएको छ ।

युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्न अप्रेन्टिससिप, ‘लर्न एन्ड अर्न’ तथा मागमा आधारित सीपमूलक तालिम सञ्चालन गरिने जनाइएको छ । सामुदायिक विद्यालयका शिक्षकको पेशागत क्षमता विकास, डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिकता ९एआई० आधारित तालिम सञ्चालन गरिनेछ । बागमती विश्वविद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, प्राविधिक उच्च शिक्षामा छात्रवृत्ति तथा सामुदायिक क्याम्पसको गुणस्तर सुधारलाई समेत प्राथमिकता दिइएको छ ।

खेलकुद पूर्वाधार विकासतर्फ भरतपुरस्थित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, ललितपुरको गोदावरी रङ्गशाला तथा हेटौँडाको गौरिटार अन्तरराष्ट्रिय रङ्गशालाको निर्माण कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइने भएको छ ।

स्वास्थ्य क्षेत्रअन्तर्गत योग, ध्यान र स्वस्थ जीवनशैली प्रवद्र्धनका लागि हेटौँडा–१६ शक्तिडाँडामा आरोग्य केन्द्र स्थापना गरिने भएको छ । महिला उद्यमशीलता विकास, लैङ्गिक हिंसापीडितका लागि पुनःस्थापना तथा मनोसामाजिक परामर्श सेवा विस्तार गरिने जनाइएको छ ।

प्रदेश सरकारले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा जोखिममा रहेका समुदायको संरक्षण र सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिएको छ । दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक सशक्तीकरणका कार्यक्रम पनि सञ्चालन गरिनेछन् ।

स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न अस्पताल तथा स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनलाई सुदृढ बनाइने भएको छ । विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवा विस्तारका लागि प्रदेशका अस्पतालमा सिटी स्क्यान, एमआरआई, क्याथ ल्याब तथा हेमोडायलाइसिस मेसिनजस्ता आधुनिक उपकरणको व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

बालबालिकाको स्वास्थ्य प्रवद्र्धनका लागि ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिइएको छ । विद्यालयस्तरमा श्रवण, दृष्टि र दन्त परीक्षण गरी आवश्यक उपचार तथा चस्मा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिनेछ । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिइएको छ । आमा तथा नवजात शिशुमा हुने कुपोषण न्यूनीकरण गर्न सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउने तथा बालबालिकाले पूर्ण खोप लगाएपछि आमालाई रु पाँच हजार प्रोत्साहन उपलब्ध गराउने कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

प्रदेश सरकारले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा रु नौ अर्ब छ करोड दुई लाख ३९ हजार बजेट विनियोजन गरेको छ ।

यसैबीच, प्रदेश सरकारले आगामी वर्ष विपन्न परिवारका लागि एक हजार आवास निर्माण गरी उपलब्ध गराउने घोषणा गरेको छ । उक्त कार्यक्रमका लागि रु २० करोड बजेट विनियोजन गरिएको मन्त्री तामाङले जानकारी दिनुभयो ।

सार्वजनिक सुरक्षालाई प्रविधिमैत्री बनाउन प्रदेशका विभिन्न सार्वजनिक स्थानमा सिसिटिभी क्यामेरा जडान गरी डिजिटल क्राइम ट्र्याकिङ प्रणाली विकास गरिने बजेटमा उल्लेख छ । साइबर अपराध, मानव बेचबिखन तथा लागुऔषध दुरुपयोग नियन्त्रणका लागि प्रविधिमा आधारित तथा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

सञ्चार क्षेत्रतर्फ पत्रकारको सामाजिक सुरक्षा प्रवद्र्धन गर्न सामाजिक सुरक्षा कोष तथा बिमा कार्यक्रममा आबद्ध गराउन रु एक करोड बजेट विनियोजन गरिएको छ ।

सहकारी क्षेत्रप्रति नागरिकको विश्वास पुनःस्थापित गर्न प्रभावकारी अनुगमन, नियमन, संस्थागत सुदृढीकरण तथा वित्तीय अनुशासन कायम गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ । सहकारीमार्फत सामूहिक उद्यम विकास, सीप अभिवृद्धि, वित्तीय साक्षरता तथा बजार पहुँच विस्तारका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो, डुबान तथा नदी कटानका घटना दोहोरिने भएकाले विपद् जोखिम न्यूनीकरणलाई पनि बजेटमा प्राथमिकता दिइएको छ ।
प्रभावित क्षेत्रमा तटबन्ध निर्माण, पुनःनिर्माण तथा जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिनेछन् । साथै विपद्का समयमा तत्काल उद्धार तथा राहतलाई प्रभावकारी बनाउन विपद् स्वयंसेवक परिचालन तथा विपद् बिमा कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको छ ।