बेइजिङ, असार १ गते । व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ सोमबार चीन आइपुग्नुभएको छ । उहाँको यो भ्रमण चीनका राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय वार्तासहित द्विपक्षीय सहयोग विस्तार गर्ने केन्द्रित रहेको बताइएको छ ।
अप्रिलमा नागरिक राष्ट्रपतिको पदभार सम्हालेपछि यो उहाँको दोस्रो विदेश भ्रमण हो । यसअघि उहाँ भारत भ्रमणमा जानुभएको थियो । सन् २०२१ को सैन्य कूले आङ सान सुकीको निर्वाचित सरकारलाई हटाएपछि म्यान्मा लामो समयदेखि कूटनीतिक रूपमा टाढिँदै आएको छ ।
म्यान्माका सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका तस्बिरहरूमा राष्ट्रपति मिन आङ ह्लाइङ बेइजिङ प्रस्थानका क्रममा विमानमा चढ्दै हात हल्लाइरहेको देखाइएको छ । चिनियाँ राज्य सञ्चारमाध्यमले उहाँको आगमनको औपचारिक जानकारी दिँदै भ्रमणलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गरेको छ ।
यस भ्रमणका क्रममा उहाँले राष्ट्रपति सी जिनपिङसँगै चिनियाँ प्रधानमन्त्री ली किआङ र राष्ट्रिय विधायिका प्रमुख झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको चीनको विदेश मन्त्रालयले जनाएको छ । यो भ्रमण शुक्रबारसम्म चल्नेछ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानका अनुसार चीनले यो भ्रमणलाई म्यान्मासँगको मैत्री सम्बन्ध पुनः सुदृढ गर्न र ‘व्यापक रणनीतिक सहकार्य’ विस्तार गर्ने अवसरका रूपमा लिएको छ । उहाँका अनुसार दुवै देशबीच आर्थिक, राजनीतिक तथा विकास–सहयोगका क्षेत्रलाई थप मजबुत बनाउने लक्ष्य रहेको छ ।
म्यान्माका राष्ट्रपतिले भ्रमणका क्रममा चीनका उच्च प्रविधि उद्योगहरूको अवलोकन गर्ने तथा एक आर्थिक सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि तय भएको म्यान्माको राज्य सञ्चारमाध्यमले जनाएको छ ।
यसैबीच, म्यान्मा–चीन सम्बन्धमा ध्यान खिच्ने गरी एक अमेरिकी नागरिकको पक्राउले पनि चर्चा पाएको छ । म्यान्मा केन्द्रित अनुसन्धान गर्ने एक थिङ्क ट्याङ्कका संस्थापक मिन जिनलाई चीनमा ‘जासुसी गतिविधिमा संलग्न भएको आशङ्कामा’ हिरासतमा राखिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
चिनियाँ प्रवक्ता लिनका अनुसार उहाँमाथि राष्ट्रिय सुरक्षालाई जोखिममा पार्ने गतिविधिमा संलग्न भएको आरोपमा कानूनी प्रक्रिया अघि बढाइएको छ । सम्बन्धित थिङ्क ट्याङ्कले म्यान्माको राजनीतिक अवस्था, स्रोत साधन र द्वन्द्वगत परिस्थितिबारे अनुसन्धान गर्दै आएको थियो ।
सन् २०२१ को सैन्य कूपछि म्यान्मामा सशस्त्र सेना र विभिन्न विद्रोही समूहबीच निरन्तर द्वन्द्व जारी छ । चीनसँग करिब दुई हजार १०० किलोमिटर लामो सीमा साझा गर्ने म्यान्मामा राजनीतिक अस्थिरताले बेइजिङलाई सुरक्षा र क्षेत्रीय स्थिरताबारे चासो बढाएको छ ।
चीनले यसअघि नै म्यान्माका सशस्त्र समूहहरूबीच नियन्त्रण कायम गर्न प्रयास गर्दै आएको छ भने हालै सम्पन्न राजनीतिक प्रक्रियालाई पनि समर्थन जनाएको थियो, जसले सैन्य समर्थक समूहहरूलाई चुनावी लाभ दिलाएको थियो ।
विदेशमन्त्री वाङ यीले यस वर्ष अप्रिलमा नेपिडोमा भएको भेटमा म्यान्माको सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको संरक्षणमा चीन दृढ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सशस्त्र सेना प्रमुखको रूपमा पाँच वर्ष शासन गरेपछि मिन आङ ह्लाइङले यसै वर्ष अप्रिलमा नागरिक राष्ट्रपतिको रूपमा शपथ लिनुभएको थियो । तर अन्तर्राष्ट्रिय विश्लेषकहरूले यसलाई सैन्य शासनको स्वरूप परिवर्तन मात्र भएको भन्दै आलोचना गर्दै आएका छन् ।





