काठमाडौँ, जेठ ८ गते । काठमाडौँमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले शानदार जित निकालेको छ । नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमै समेटिन पुग्दा अमेरिका १२२ रनले पराजित हुन पुगेपछि नेपालले सहज जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको थियो ।

आजको खेलमा बलिङमा नेपालका सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २–२, सोमपाल कामीले एकएक विकेट लिन सफल भएका थिए ।
नेपालका लागि इशान पाण्डे र उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । इशानले ८४ रनको उत्कृष्ट ब्याटिङ गरे । उनले ८३ बलमा ८ चौका र एक छक्का प्रहार गरे । इशानले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका हुन् । उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ११० रनको शतकीय साझेदारी गरे ।
कप्तान रोहित ५९ बलमा ४६ रन बनाएर आउट भए । त्यसअघि आसिफ शेख र कुशल भुर्तेलले ६९ रनको ओपनिङ साझेदारी गरेका थिए । कुशलले २९ र आसिफले ४३ रनको योगदान दिए । आक्रामक ब्याटिङ गरेका दीपेन्द्रले ३६ बलमा ५९ रन बनाए । उनले समान ४ चौका र छक्का प्रहार गरे । गुल्सन झा १५, नन्दन यादव एक र सोमपाल कामी ५ रन बनाएर आउट हुँदा आरिफ शेख १७ रनमा अविजित रहे ।

यसैगरी अमेरिकाका लागि सञ्जय कृष्णमुर्तिले सर्वाधिक ५६ रन बनाएका थिए, तर यो रन नेपाललाई हराउन सहज भएन । अमेरिकाका लागि शयान जहांगिर २७, शेहान जयसुरिया २६, कप्तान शैतेजा मुक्कामुल्ला २२, मिलिन्द कुमार १२, शुभम रन्जने २, शौरभ नेत्रभाल्कर १०, नेत्र केन्जिगे २९ रन तथा हर्मित सिंह र स्मित पटेल कुनै पनि रन नजोडी आउट भएका थिए ।
बलिङमा अमेरिकाका शुभम रञ्जने २, मिलिन्द कुमार र रुशिल उगर्कारले एकएक विकेट लिन सफल भएका थिए ।





