काठमाडौँ जेठ ८ गते । काठमाडौँमा आजदेखि अन्तरराष्ट्रियस्तरको काभा महिला भलिबल च्याम्पियनसिप प्रतियोगितासुरु हुँदैछ । नेपाल भलिबल सङ्घको आयोजनामा आज शुक्रबारदेखि जेठ १५ गतेसम्म यो प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगिताको उद्घाटन खेल आज शुक्रबार दिउँसो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजक राष्ट्र नेपाल र भारतबीच हुनेछ । नेपालले गृह मैदान र घरेलु दर्शकको अपार समर्थनमा भारतलाई पराजित गरेर पहिलो जितको खाता खोल्न मैदानमा उत्रने तयारीमा जुटेको छ । यस प्रतियोगितामा आयोजक राष्ट्र नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश, मालदिभ्स, इरान, कीर्गिस्तान र कजाकिस्तान गरी ८ वटा देशका टोलिहरुका सहभागिता रहेको छ ।

दुई समुहमा विभाजन गरिएको यस प्रतियोगिताको ‘ए’ समुहमा आयोजक राष्ट्र नेपालसहित भारत, मालदिभ्स, र कीर्गिस्तान छन् भने समुह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, इरान, र कजाकिस्तान रहेका छन् ।


यस प्रतियोगितामा नेपाली टिमको नेतृत्व कप्तान निरुता ठगुन्नाले गर्दैछन् । नेपाली टिमकी कप्तान ठगुन्नाले नेपाली दर्शकलाई निराश हुन नदिने उल्लेख गर्दै आफ्नो टोलीले उच्चस्तरीय प्रदर्शन गर्ने बताएकी छन् । “टोलीमा नयाँ र पुराना खेलाडीको संयोजन रहेकाले यसपाली उपाधि जित्नेमा आशावादी छौँ”, कप्तान ठगुन्नाको भनाइ छ । उनको नेतृत्वमा नेपालले पहिलो पटक प्रतियोगिता खेल्दै छ ।

च्याम्पियनसिपका लागि ठगुन्नाको कप्तानीमा नेपालले १४ सदस्यीय टोली घोषणा गरेको छ । टोलीका अन्य खेलाडीहरुमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद, अलिशा मानन्धर, उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुँवर, मिना सुनार, प्रगति नाथ र जशना महतो तथा मुख्य प्रशिक्षकमा जगदीशप्रसाद भट्ट रहेका छन् ।


यस प्रतियोगिता सञ्चालनमा दुई करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सो खर्चमध्ये नेपाल भलिबल सङ्घलाई सरकारले एक करोड र काठमाडौँ महानगरपालिकाले ३० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । बाँकी रकम भलिबल सङ्घले व्यवस्थापन गरेको बताइएको छ ।