मोरङ, वैशाख २० गते । नेपाल पत्रकार महासङ्घ मोरङले विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा यहाँका तीन अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा कोशी प्रदेश प्रदेश प्रमुख परशुराम खापुङले पत्रकारहरू केदार चौहान, केदार रिजाल र ज्योति शर्मालाई सम्मानपत्र प्रदान गर्नुभयो ।

प्रदेश प्रमुख खापुङले समाजलाई परिवर्तन र मुलुकको विकासमा सञ्चारकर्मीहरुको काँधमा ठूलो जिम्मेवारी रहेकाले सत्यतथ्यका आधारमा समाचार सम्प्रेषण गरी जिम्मेपारी पूरा गर्न आग्रह गर्नुभयो । उहाँले प्रजातन्त्र, लोकतन्त्र र मानव अधिकारको संरक्षणमा सञ्चारकर्मीले थप योगदान पु¥याउनुपर्नेमा जोड दिँदै राष्ट्रिय एकता बलियो बनाई समाजमा सद्भाव कायम राख्न कलम चलाउनुपर्ने सुझाव दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले पत्रकारिता जिम्मेवार पेसा भएकाले मुलुकमा शान्तिसुरक्षा एवं सद्भाव कायम गर्न महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै प्रशंसा गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरतबहादुर खड्का, महासङ्घका केन्द्रीय सदस्य कमल रिमालले सञ्चारकर्मीको भूमिकाका कारण लोकतन्त्र एवं गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

महासङ्घ मोरङ अध्यक्ष सुशीला पाठक, उपाध्यक्ष सन्तोष सिग्देल, महासङ्घका पूर्वप्रदेश अध्यक्ष विक्रम लुइँटेल, मोरङका पूर्वअध्यक्ष बन्धु पोखरेल, प्रेस चौतारी नेपालकी मोरङ अध्यक्ष चीना थापा, नेपाल प्रेस युनियनका मोरङ अध्यक्ष वेदराज पौड्याल, गैरसरकारी संस्था महासङ् मोरङ अध्यक्ष विष्णु शर्मा पन्त, सम्मानित पत्रकार चौहानलगायतले आफ्नो धारणा राख्नुभएको थियो । 

महासङ्घले आज विराटनगर आँखा अस्पतालको सहयोगमा सञ्चालन गरेको आँखा शिविरमा दुई सय जना पत्रकार र परिवारका सदस्यहरूले आँखा जाँच गराई निःशुल्क औषधि एवं चस्मा वितरण गरिएको थियो ।