काठमाडौँ, वैशाख २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यहि चैत मसान्तभित्र सुकुमवासीको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ । आज आइतबार रास्वपा केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले घरबारविहीन भएका सुकुमबासीलाई व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो ।
बैठकले सरकारलाई अधिकार सम्पन्न प्राधिकरण गठन गरी कम्तीमा ७५ प्रतिशत सुकुमवासीलाई व्यवस्थापन गर्न निर्देशन दिएको छ । जसको लागि अधिकार सम्पन्न प्राधिकार बनाउनु पर्नेे निष्कर्ष बैठकले निकालेको छ ।
प्रवक्ता मनिष झाका अनुसार बैठकले काठमाडौं उपत्यकाका खोला किनारामा असुरक्षित र अव्यस्थित बसोबास गरिरहेका नागरिकलाई चैत मसान्तभित्र सुरक्षित स्थानमा बासस्थान मिलाउन सरकारलाई सुझाव दिने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता झाले चैत मसान्तभित्र कम्तीमा ७५ प्रतिशत व्यवस्थापन गर्नुपर्ने र प्राधिकार गठन भएर लगत उपलब्ध नगरेसम्म अन्यन्त्र डोजर चल्ने छैन भन्ने सुनिश्चित गर्न सकारलाई सुझाव दिएको बताउनुभयो ।
उहाँले ‘केही महिनापछि बाढी आउँछ । फेरि भिजिबिलिटी पुगेन भनेर छाड्दिने हो कि अहिलेदेखि नै सुरक्षित ठाउँतिर लैजाने हो । सरकारलाई आगामी चैत मसान्तभित्र व्यवस्थित तरिकाले गाँस, बास र स्वास्थ्यमा ध्यान दिएर व्यवस्थापन गर्न सुझाव दिएको’ जानकारी गराउनुभयो ।





