काठमाडौँ, वैशाख २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने निर्णय गरेको छ । प्रवक्ता मनिष झाका अनुसार आज आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
रास्वपाले उम्मेदवारका आकाङ्क्षी धेरै हुने भएपछि छनोटमा सहज बनाउन क्यान्डिडेट क्लब बनाएको हो । रास्वपाले उम्मेदवार छनोटका लागि सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय स्थानीय निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति गठन गरेको थियो ।
बैठकमा समितिले स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन सभापति रवि लामिछानेलाई हस्तान्तरण गरेको थियो। आगामी २०८४ सालमा हुने स्थानीय तहको चुनावका लागि अहिलेबाटै आवश्यक तयारी अघि बढाएको हो ।





