नयाँ दिल्ली, वैशाख २० गते । आइतबार बिहान दिल्लीको एक बहुतले घरमा एअर कन्डिसनर (एसी) विस्फोटपछि आगलागी हुँदा नौँ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । आगलागीमा परी एक बालक र चार महिलासहित कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य २० जना घाइते भएका दिल्ली प्रहरीले पुष्टि गरेको छ ।
पूर्वी दिल्लीको विवेक विहार इलाकामा पीडित सुतिरहेका बेला यो घटना भएको हो । एसी विस्फोटपछि लागेको आगो केही मिनेटमा नै पूरै घरमा फैलिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त घरको विभिन्न भागबाट नौजनाको मृत शरिर निकालिएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
आगो नियन्त्रणका लागि दमकलसहितका १४ वटा टोली खटिएका थिए । एयर कन्डिसनरमा विस्फोट हुनुको कारण पत्ता लगाउन अनुसन्धान सुरू भइसकेको प्रहरीले जनाएको छ।





