काठमाडौँ, वैशाख ९ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने हुनुभएको छ । पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल वैशाख ९ गते स्थापना गरिएको नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसको अवसरमा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने हुनुभएको हो ।
एमाले महासचिव शङ्कर पोखरेलका अनुसार अध्यक्ष ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरू समेटिने छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा चैत १४ गते शनिबार पक्राउ पर्नुभएका ओली १३ दिनपछि चैत २६ गते रिहा हुनुभएको थियो । सोहीबीचमा उहाँको त्रि. वि शिक्षण अस्पताल महाराजगञ्जमा । पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको थियो ।
शल्यक्रिया गरेर वैशाख ५ गते घर फर्की स्वास्थ्यलाभ गरिरहनुभएका ओलीले आज पार्टी स्थापना दिवसका दिन नेता कार्यकर्तालाई सम्बोधन गर्न लाग्नुभएको हो ।
ओलीले सम्बोधन गर्ने कार्यक्रममा उपस्थित हुनका लागि एमालेले उपत्यकामा रहेका पार्टी केन्द्र, जनसङ्गठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकहरुलाई आग्रह गरेको जनाएको छ ।
पछिल्लो समय एमाले नेतृत्त्वमा ओलीको विकल्प खोज्न थालिएको छ। ओलीसँग निकट मानिने उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेता नै ओलीलाई नेतृत्त्वबाट हटाउने आन्तरित तयारीमा लागेका छन्।
ओलीले सम्बोधन गर्ने कार्यक्रममा उपस्थितिका लागि एमालेले सबैमा अनुरोध गरेको छ।







