काठमाडौँ, वैशाख ९ गते । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापा आज विराटनगर जाने हुनुभएको छ । सभापति थापा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जान लाग्नुभएको हो ।
पार्टीकी सहमहामन्त्री डा. डिला सङ्ग्रौलाका अनुसार पूर्वनिर्धारित कार्यतालिका अनुसार सभापति थापा अहिले बिहान ९:५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्ने र बिहान १०:३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने तयारी गरिएको छ ।
पार्टीको प्रदेशस्तरीय सङ्गठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा र आगामी रणनीति तय गर्न नेपाली काङ्ग्रेसले कोशी प्रदेशको विराटनगरमा आज निर्वाचन समीक्षा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा पार्टीका कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, सङ्घीय तथा प्रदेश सांसद, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ ।
काङ्ग्रेसको कोशी प्रदेशको नेतृत्व व्यवस्थापन तथा संगठन सुदृढीकरणका विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल हुने सहमहामन्त्री सङ्ग्रौलाले जानकारी दिनुभयो ।
काङ्ग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम गर्दै आएको छ । यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेश प्रदेशमा यस्तै समीक्षा बैठक सम्पन्न गरिसकेको पार्टीले आज कोशी प्रदेशमा सङ्गठनात्मक छलफललाई निरन्तरता दिन लागेको हो ।
पार्टी नेतृत्वले समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म सङ्गठनको अवस्था, चुनावी परिणाम, कमजोरी र सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव सङ्कलन गर्ने अपेक्षा गरेको छ । साथै आगामी राजनीतिक रणनीति, सङ्गठन विस्तार, क्रियाशील सदस्यता, १५ औँ महाधिवेशनको तयारी र कार्यकर्ताको सक्रियता बढाउने विषयमासमेत कार्यक्रममा छलफल हुने बताइएको छ ।







