फाइल तस्वीर
काठमाडौँ, वैशाख ९ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालका सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता र शान्ति सम्झौता पक्षधरबीच मोर्चाबन्दी आवश्यक रहेको बताउनुभएको छ । नेकपाको ७७ औँ स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा आज बुधबार बिहान शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनको समग्र पुनर्गठनका लागि आह्वान गर्नुभएको हो ।
विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक भइरहेको भन्दै प्रचण्डले यस्तो परिस्थितिमा शान्ति सम्झौता तथा लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दीमा जोड दिनुपर्ने बताउनुभयो ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै लेख्नुभएको छ, ‘नेपाली क्रान्तिलाई अगाडि बढाउँदै सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ । नेपाली जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा म विशेष जोड दिन चाहन्छु ।’
प्रचण्डद्वारा जारी सन्देशमा भनिएको छ, ‘कम्युनिस्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्छ भन्ने इतिहासले प्रमाणित गरेको छ । तसर्थ, नेपाली कम्युनिस्टहरूको काँधमा विगतका बलिदानीपूर्ण सङ्घर्षका उपलब्धिहरूको रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको छ ।’
शुभकामना सन्देशमा ‘इतिहासले सुम्पेको यही जिम्मेवारी पूरा गर्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चा तथा घोषणापत्र र त्यसपछिका विकसित विचारहरूको संश्लेषण गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको समग्र पुनर्गठनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु, विगतको समीक्षा र वैचारिक संश्लेषणका साथ वामपन्थी आन्दोलनको पुनर्गठनको संकल्प लिन सबैमा पुनः आह्वान गर्दछु’ भनी उल्लेख गरिएको छ ।
प्रचण्डले न्याय र स्वतन्त्रता, समानता प्राप्तिको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्ग तथा शहीद परिवारजनप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनताको जनवादी सत्ता स्थापना गर्ने महान् उद्देश्यसहित वि.सं. २००६ साल वैशाख ९ (२२ अप्रिल १९४९) मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘स्थापनासँगै नेकपाले अघि सारेको नेपाली क्रान्तिको मार्गदिशाअनुरूप आज हामी सामन्ती निरङ्कुशताको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ । आज शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परेका छन्, साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन सकेको छैन । त्यसैले समाजमा विभेद रहँदासम्म कम्युनिस्ट पार्टीको औचित्य रहिरहनेछ । अर्कोतर्फ, वर्तमान विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक र फासिवादी दिशातिर अगाडि बढिरहेको सन्दर्भमा महान् लेनिनका शिक्षा र आदर्श अझ सान्दर्भिक बनेका छन् ।’
नेकपा संयोजक नेपाली कम्युनिस्टहरूको काँधमा विगतका बलिदानीपूर्ण सङ्घर्षका उपलब्धिहरूको रक्षा गर्दै महान् लेनिनप्रति उच्च सम्मानका साथै विगतको समीक्षा र वैचारिक संश्लेषणका साथ वामपन्थी आन्दोलनको पुनर्गठनको सङ्कल्प लिन सबैमा पुनः आह्वान गर्नुभएको छ ।








