काठमाडौँ, वैशाख ९ गते । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरु मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि टुक्रिएर जनार्दन शर्मा नेतृत्वको नयाँ पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा जानुभएका नेता सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्यसमेत नरहने गरी राजीनाको घोषणा गर्नुभएको छ ।

यसअघि चैत १८ गते अध्यक्ष परिषदको सदस्यबाट राजीनामा दिनुभएका नेता किराँतीले आज बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीसँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको घोषणा गर्दै पार्टीको साधारण सदस्य समेत नरहेको जानकारी गर्नुभएको हो ।


नेता किराँतीले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेख्नुभएको छ, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु । करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’


नेता किराँतीले सामाजिक सञ्जालमार्फत् ‘जनसमुदायको भरोसा र शहीदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने बाचा गर्दछु । मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु ’ भनी उल्लेख गर्नुभएको छ ।

नेता किराँतीले पार्टीमा बिताएको ५ महिनाको अनुभवलाई ’अमूल्य सम्पत्ति’ को रूपमा आत्मसाथ गरेको बताउँदै सङ्गठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको उल्लेख गर्नुभएको छ ।