काठमाडौँ, असोज २३ गते । नेपाली काङ्ग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान अझै जारी रहेको छ । आज बिहान ७:३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयमा नसकिने देखिएपछि दुई घण्टा थपेर साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । तर थपिएको उक्त समयमा पनि मतदान नसकिने भएपछि दोस्रो पटक दुई घण्टा थपेर अहिले साँझ ७ बजेसम्मका लागि निर्धारण गरिएको थियो ।
तर, दोस्रो पटक थपिएको ७ बजेको समय सकिँदा पनि अझैं मतदान गर्न बाँकी रहेकोले निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदानको निर्धारित समय सकिएपनि लाइनमा लागेका सबै प्रतिनिधिले मतदान गर्न पाउने जानकारी दिनुभएको छ ।
राष्ट्रिय सभागृह र खुलामञ्चमा गरी करिब ५ सय प्रतिनिधिले अझैं मतदान दिनै बाँकी छ । हालसम्म गण्डकी प्रदेशको मात्रै मतदान सकिएको छ । बाँकी ६ प्रदेश र जनसम्पर्क समितिका प्रतिनिधिहरूको मतदान भने जारी रहेको बताइएको छ ।




