काठमाडौँ, असोज २३ गते । यही असोज १८ गतेदेखि सुरु नेपाली काङ्ग्रेसको जारी १५औँ महाधिवेशन पार्टीको नयाँ नेतृत्व निर्वाचित गर्ने सङ्घारमा पुग्दा मतदान गर्ने समय थपिएको छ । आज शुक्रबार बिहान ७:३० बजेदेखि नेतृत्व चयनका लागि सुरुभएको मतदान तोकिएको समयभित्र प्रतिनिधिहरुले मत खसाल्न समय अपुग भएकोले केन्द्रीय निर्वाचन समितिले दोस्रो पटक समय थप गर्दै साँझ ७:०० बजेसम्मको लागि समय थप गरेको हो ।
यसअघि आज बिहान ७ः३० बजेदेखि सुरु भएको मतदानका लागि दिउँसो ३ः०० सम्मका लागि तोकिएको थियो । सो समयमा प्रतिनिधिहरुले मत खसाल्न नभ्याउने भएपछि पहिलो पटक साँझ ५ः०० बजेसम्मको समय सीमा तोकियो । तर सो समयभित्र पनि मत हाल्न महाधिवेशनका प्रतिनिधिहरु लाइनमा रहेकाले निर्वाचन समितिले पुनः दोस्रो पटक समय थप गर्दै साँझ ७ः०० बजेसम्म मत खसाल्न पाउने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ । सो कुराको जानकारी काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले गराएको हो ।




