काठमाडौँ, असोज २३ गते । पूर्वराष्ट्रपति एवम् नेपाल कम्युनिस्ट पार्टी एमालेकी वरिष्ठ उपाध्यक्ष विद्यादेवी भण्डारीले नेपालको लोकतन्त्र र संविधानमाथि खतरा देखिएको अभिव्यक्ति सार्वजनिक गर्नुभएको छ । एमाले वरिष्ठ उपाध्यक्ष भण्डारीले आज शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
पूर्वराष्ट्रपति एवम् एमाले वरिष्ठ उपाध्यक्ष भण्डारीले मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा देखिएको उल्लेख गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी प्रमुख राजनीतिक दलहरुको रहेको बताउनुभयो ।
पुनः एमालेको नेतृत्व पङ्तिमा पुग्नुभएकी वरिष्ठ उपाध्यक्ष भण्डारीले आफू हिजोका दिनमा पनि लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको स्मरण गर्दै ‘हिजो पनि म आफु पनि लोकतान्त्रिक आन्दोलनमा सरिक भएँ । त्यो प्रतिको अगाध माया, विश्वास छ भन्नुहुँदै पार्टीमा आबद्ध भएर लोकतन्त्र र गणतन्त्रलाई अझै सुदृढ बनाउनका निम्ति मद्दत पुर्याउन, सहयोग गर्न सक्छु भन्ने मनसायका साथ म पार्टीको जीवनमा फर्किएकी हुँ ’ भन्ने धारणा बैठकमा राख्नुभएको थियो ।




