असोज २३ गते । पृथ्वीराजमार्गको धादिङस्थित गजुरी नजिकैको गलौँदीमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आज शुक्रबार साँझ सडकको करिब २० मिटर खण्ड भासिएको र झण्डै सय मिटर क्षेत्र सडक चर्किएका कारण दुईतर्फी नै सडक अवरुद्ध भएको हो।

सडक भाँसिएपछि थप भासिने र पहिरो जाने जोखिम बढेकोले सम्भावित दुर्घटनालाई रोक्न राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । राजमार्ग अवरुद्ध भएपछि पृथ्वी राजमार्ग भएर यात्रा गर्ने सवारी साधन तथा यात्रु प्रभावित भएका छन् । त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।