काठमाडौँ, असोज २३ गते । पर्यटक बस व्यवसायीको छाता संस्था टुरिष्ट बस एसोसियसन अफ नेपाल (टिवान) को अध्यक्षमा ढकनाथ काफ्ले निर्वाचित हुनुभएको छ । एसोसियसनको आज सम्पन्न १५औँ वार्षिक साधारणसभा तथा आठौँ निर्वाचनबाट काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

एसोसियसनको प्रथम उपाध्यक्षमा सुजन आचार्य, द्वितीय उपाध्यक्षमा चिरञ्जीवी गिरी, महासचिवमा अशोक अर्याल निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक सुशील दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार कोषाध्यक्षमा सुजन दाहाल, सदस्यमा रमेश पौडेल र छविलाल घिमिरे निर्वाचित हुनुभएको छ ।

दुई दशकदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशील नवनिर्वाचित अध्यक्ष काफ्ले यसअघि टिवानको पूर्वउपाध्यक्ष तथा नेपाल एशोसियसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) केन्द्रको सहकोषाध्यक्ष भइसक्नुभएको छ ।

टिवानले आज यहाँ आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले पर्यटन क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकार लागिरहेको बताउनुभयो । नेपालको पर्यटन क्षेत्रको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुन्यप्रसाद सिटौलाले पर्यटन बसको आकर्षण बढाउनका लागि पर्यटन व्यवसायी एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले पर्यटन बस उचित व्यवस्थापन नहुँदा व्यवसायी र यात्रु दुवैलाई असुविधा भइरहेको भन्दै पर्यटक बस पार्किङका लागि व्यवस्थित बसपार्क आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य सहदेव धमलाले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि नेपाल पर्यटन बोर्डलाई सातै प्रदेशमा विस्तार गर्नेबारे छलफल भइरहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको समस्या समाधान गर्न व्यवसायी एकताबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल एसोसिसयन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष भरतजङ्ग पाण्डे, ट्रेकिङ एजेन्सीज् एशोसिसयन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे, होटल सङ्घ नेपाल (हान) का महासचिव साजन शाक्य, टुरिष्ट बस एशोसियसन अफ नेपालका सल्लाहकार मदनकुमार आचार्यलगायतले नेपालको पर्यटन क्षेत्रको समस्या बलियो रुपमा उठाउनका लागि पर्यटन महासङ्घको खाँचो रहेको बताउनुभएको थियो ।

टिवानका अध्यक्ष भीष्म न्यौपानेले लामो समयदेखि टिवानले पर्यटक बसपार्कको मुद्दा उठाउँदै आए पनि उक्त समस्या सम्बोधन हुन नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा मन्त्री प्रजापतिले नयाँ कार्यसमितिलाई बधाई तथा सम्मान ज्ञापन गर्नुभएको थियो । रासस