काठमाडौँ, असोज ४ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक आह्वान गरेको छ । बैठक कोटेश्वरको पेरिसडाँडास्थित पार्टी मुख्यालयमा असोज ६ गते मङ्गलबार दिउँसो १ बजे बस्ने तय भएको हो ।

पर्सी मङ्गलबार बस्ने बैठकमा पार्टीको तल्लो तहका समितिहरुको अधिवेशनदेखि महाधिवेशनसम्मको कार्यतालिकाको बारेमा छलफल हुने बताइएको छ । पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार सोही बैठकमा पार्टीको आन्तरिक सङ्गठनात्मक सवाल, राष्ट्रियताको सवालमा छलफल हुनेछ ।

यसैगरी गत भदौ १० गते रसुवामा आएको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रहरुमा सरकारले गरिरहेको खोजी तथा उद्धार, कार्यका साथै राहत वितरण र पुनर्स्थापना कामको विषयमा समीक्षा गरिने भएको छ भने देशका वर्तमान राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।