काठमाडौँ, असोज ४ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेको दुईवटा महत्वपूर्ण बैठक आज बस्दै छ । आज आइतबार दुई बेग्लाबेग्लै समयमा एमाले कार्यदल र केन्द्रीय सचिवालयको बैठक बस्न लागेको हो।
केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा, केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने प्रतिवेदन तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनबारे निष्कर्षमा पुग्न सचिवालय बैठक बस्न लागेको हो।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ भने सचिवालय बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
कार्यदल र सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बस्ने तय भएको छ । कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिएर सचिवालय बैठकमा पेस गर्ने तयारी छ ।
यसअघि कार्यदलमा दुईवटा छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत भएकाले एउटै प्रतिवेदन तयार गर्न आजको बैठक बोलाइएको हो। अघिल्लो बैठकमा प्रतिवेदनबारे समझदारी जुट्न नसकेपछि आजको बैठकबाट निष्कर्ष निकाल्ने तयारी गरिएको छ।
कार्यदल र सचिवालय बैठकपछि भोलिदेखि एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुनेछ। बैठक असोज ७ गतेसम्म चल्ने कार्यतालिका रहेको छ।




