काठमाडौँ, असोज ४ गते । नेपाली काङ्ग्रेसको १५ औँ महाधिवेशन यही असोज १६ गतेदेखि काठमाडौँमा हुँदैछ । महाधिवेशनलाई लक्षित गरी काङ्ग्रेसले हिजोदेखि वडास्तरी अधिवेशन सुरु गरेको छ ।

अधिवेशन आज पनि जारी छ । वडा अधिवेशन दुई चरणमा गरिएको छ । केही जिल्लामा हिजो र केही जिल्लामा आज वडाको अधिवेशन सकेपछि निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश स्तरको अधिवेशन सकेर दोस्रो सातामा पार्टीको महाधिवेशन गर्ने तयारी भइरहेको काङ्ग्रेसले जनाएको छ ।

पार्टीको आसन्न महाधिवेशनलाई लिएर काङ्ग्रेसमा विवाद चुलिंदै गएको छ । जसले गर्दा अब काङ्ग्रेस विभाजनको सङ्घारमा पुगेको सङ्केत हुन थालेको छ ।

यसैबीच आसन्न महाधिवेशनलाई लिएर पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजनको डिलमा पुगेको खुलासा गर्नुभएको छ । आज आइतबार सामाजिक सञ्जालमार्फत् सो खुलासा गर्नुभएको हो । काङ्ग्रेस नेता खड्काले सञ्जालमा ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली काङ्ग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ !’ – भनि उल्लेख गर्नुभएको छ ।

संस्थापन र देउवा दुवै पक्षमा नखुलेका पूर्वकार्यवाहक सभापति खड्काले सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेको बताउँदै सहमति जुट्न नसके आफु पार्टीको १५ औँ महाधिवेशनमा उपस्थित नहुने बताउनुभएको छ ।

खड्काले पुनरावलोकन माग सहित आफू अदालत गएको हुँदा र अदाललते मुद्दा विचाराधिन अवस्थामा राखिरहेकोले महाधिवेशनको प्रक्रिया सहभागी नभएको पनि उल्लो गर्नुभएको छ ।

सञ्जालमा नेता खड्काले ‘निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी हामीलाई निस्सा दियो र सो मुद्दा हाल सर्वाेच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ । यस्तो अवस्थामा सभापति गगन थापाको नेतृत्वमा हुन लागेको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेरो विश्वासको कारणले म महाधिवशनमा सहभागी नभएको व्यहोरा सम्बन्धित सबैमा प्रष्ट पार्न चहान्छु’ भनि उल्लेख गर्नुभएको छ ।