काठमाडौँ, असोज ४ गते । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । मन्त्री खनालको टोली आज आइतबार साँझ ६ बजे न्युयोर्क प्रस्थान गर्न लाग्नुभएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, मन्त्रिस्तरीय भेला र द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ । साथै उहाँले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह भने आगामी मङ्गलबार १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ (सेप्टेम्बर २४) गते सम्बोधन गर्नुहुने छ ।
प्रधानमन्त्री शाहले नेतृत्व गर्ने प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी हुनेछन्।
अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगसमेत भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । अमेरिका भ्रमण सकेर प्रधानमन्त्री शाह सेप्टेम्बर २६ तारिख स्वदेश फकिनुर्हुने कार्यक्रम छ भने परराष्ट्रमन्त्री खनाल २९ तारिख स्वदेश फकिनुर्हुने छ ।




