काठमाडौँ, भदौ १ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले देशमा उत्पादित विद्युत खेर जाने अवस्था अन्त्य गर्न माग र आपूर्तिबीच सन्तुलन कायम गरी प्रसारण सञ्जाल अघि बढाइने बताउनुभएको छ । मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा उहाँले विद्युत् खेर जाने अवस्था अन्त्य र आपूर्ति सन्तुलन कायम गर्न मन्त्रालयको स्पष्ट कार्ययोजना रहेको प्रष्ट पार्नुभयो ।
“अतिरिक्त विद्युत्लाई तेस्रो बजारमा निर्यात गरी वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्दै जाने मार्गमा अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो, “हिजोका दिनमा विद्युत्को पहुँच विस्तार गर्नुपर्ने चुनौती थियो भने आज ग्राहकलाई दिगो र भरपर्दो विद्युत् आपूर्ति चुनौतीपूर्ण देखिएको छ ।”
अर्को वर्षपछि मन्त्रालयको प्राथमिकता वितरण प्रणालीको आधुनिकीकरणमा हुने बताउँदै मन्त्री श्रेष्ठले भन्नुभयो, “उपभोक्ताले विद्युत्् पाउने मात्र होइन, भरपर्दो, गुणस्तरीय र अविच्छिन्न विद्युत्् सेवा पाउने अवस्था सिर्जना गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।”
उहाँले पुराना तथा जीर्ण संरचनाको प्रतिस्थापन, क्षमता अभिवृद्धि, स्मार्ट प्रणालीको प्रयोग, चुहावट नियन्त्रण, माग व्यवस्थापन र सेवा प्रवाहमा डिजिटल प्रविधिको विस्तार अब विकल्प नभइ आवश्यकता भएको बताउनुभयो ।
ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि सरकारको लगानी मात्र नभएर ठूला पूर्वाधार निर्माणका लागि उल्लेख्य पुँजी आवश्यक रहेको बताउँदै मन्त्री श्रेष्ठले निजी क्षेत्र, वित्तीय संस्था, विकास साझेदार र अन्तरराष्ट्रिय लगानीकर्ताको साझेदारीमा आयोजना अघि बढाइने जानकारी दिनुभयो ।
आर्थिक वर्षमा सरकारको ध्यान प्रसारण पूर्वाधारको विस्तार र सुधारमा केन्द्रित रहेको बताउँदै मन्त्री श्रेष्ठले उत्पादन बढ्दै जाँदा उच्च विद्युत्् भार बहन गर्ने प्रसारण प्रणाली कमजोर रह्यो भने उत्पादनको अर्थ नरहने पनि स्पष्ट पार्नुभयो ।




