किशनगढ, भदौ १ गते । भारतको राजस्थानस्थित किशनगढमा सङ्गमरमर प्रशोधनबाट निस्किएको सेतो फोहोरको थुप्रो अहिले पर्यटक, चलचित्र निर्माता र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि अनौठो आकर्षण बनेको छ । फोहोर फाल्ने ठाउँ भए पनि यसको सेतो भू–दृश्य हिउँले ढाकिएको उपत्यकाजस्तो देखिने भएकाले यहाँ घुम्न आउनेको सङ्ख्या बढेको छ ।

उत्तरपश्चिमी राज्य राजस्थानको प्रमुख सङ्गमरमर प्रशोधन केन्द्र किशनगढमा ८२ एकड अर्थात् ३३ हेक्टर क्षेत्रमा फैलिएको यो फोहोर व्यवस्थापन स्थलमा दैनिक पाँच हजार ५०० टनभन्दा बढी सङ्गमरमरको घोल र ढुङ्गा जम्मा हुने गरेको छ । यहाँ एक हजार २०० भन्दा बढी प्रशोधन एकाइबाट सङ्गमरमर तथा ग्रेनाइट काट्ने र पालिस गर्ने क्रममा निस्किएको फोहोर ल्याइन्छ । यो एसियाकै ठूलो फोहोर व्यवस्थापन क्षेत्रमध्ये एक हो ।

औद्योगिक फोहोरको यो क्षेत्र अहिले अप्रत्याशित पर्यटकीय गन्तव्यमा परिणत भएको छ । विवाहअघि खिचिने तस्बिरका लागि दम्पतीहरू सेता ढिस्काबीच पुग्ने गरेका छन् भने चलचित्र तथा सङ्गीत भिडियो निर्माणमा पनि यसलाई पृष्ठभूमिका रूपमा प्रयोग गरिन्छ । पर्यटकहरू असामान्य रूपमा फैलिएको सेतो भू–दृश्यमा घोडा चढ्ने गरेका छन् ।

सामाजिक सञ्जालले यसको आकर्षण थप बढाएको छ । आगन्तुकहरूले यहाँको चम्किलो सेतो सतहलाई हिउँले ढाकिएको हिमाली वा अल्पाइन भू–दृश्यसँग तुलना गर्ने गरेका छन् । वर्षापछि फोहोरका ढिस्काबीचका होचा भागमा पानी जम्दा नीलो रङका पोखरी बन्ने भएकाले ठाउँको दृश्य अझ आकर्षक देखिन्छ ।

तर पर्यटकको आकर्षण बनेको यो क्षेत्र गम्भीर वातावरणीय जोखिमको केन्द्र पनि हो । अधिकारीहरूले हावामा फैलिने धुलो तथा भूजल प्रदूषणको जोखिमबारे पटक–पटक चेतावनी दिएका छन् । विभिन्न अध्ययनमा आसपासका पानीमा लवणता, कठोरता तथा केही भारी धातुको मात्रा उच्च रहेको पाइएको छ ।

भारतको सर्वोच्च वातावरणीय न्यायिक निकायले जनवरीमा अनियन्त्रित रूपमा फोहोर थुपार्ने क्रम रोक्दै सङ्गमरमरको घोल पुनःप्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सुधारात्मक उपाय लागू गर्न आदेश दिएको थियो । न्यायाधिकरणले फोहोर व्यवस्थापन स्थलमा भूजल चुहावट रोक्ने संरचना, पानी छुट्याउने कुवा, धुलो नियन्त्रण प्रणाली, हावा तथा भूजल निगरानी र सुरक्षात्मक हरित क्षेत्रको अभाव रहेको जनाएको थियो ।

वातावरणीय जोखिमका बाबजुद सेतो ढिस्का र वर्षापछि बन्ने नीलो पोखरीले किशनगढको यो औद्योगिक फोहोर क्षेत्रलाई सामाजिक सञ्जालमा चर्चित बनाएको छ । यसले फोहोर व्यवस्थापन र पर्यटन आकर्षणबीचको असामान्य सम्बन्धलाई समेत उजागर गरेको छ ।