मस्को, भदौ १ गते । रुसको बेल्गोरोद क्षेत्रमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित छ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । बेल्गोरोदका कार्यवाहक गभर्नर अलेक्जेन्डर शुभाएभले सोमबार उक्त जानकारी दिनुभएको हो ।
शुभाएभका अनुसार युक्रेनको सीमाबाट करिब १५ किलोमिटर टाढा पर्ने भालुइस्की जिल्लाको कोलोस्कोभो गाउँमा क्षेप्यास्त्र प्रहार भएको थियो ।
आक्रमणबाट एउटा संरचनामा आगलागी हुनुका साथै एउटा सवारीसाधनमा क्षति पुगेको उहाँले रुसी सरकारी सञ्चारमाध्यम ‘म्याक्स’ मार्फत जानकारी दिनुभएको छ ।
यो घटना रुस र युक्रेनले एकअर्काको भूभागमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेका भोलिपल्ट भएको हो । उक्त आक्रमणमा दुवै पक्षका गरी १९ जनाको मृत्यु भएको थियो ।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको सैन्य कारबाही सुरु गरेयता दुवै पक्षबीच निरन्तर हवाई आक्रमण हुँदै आएको छ । पछिल्लो समय अग्रपङ्क्तिको लडाइँमा अपेक्षाकृत कमी आए पनि क्षेप्यास्त्र तथा ड्रोन आक्रमण भने तीव्र बनेका छन् ।
रुसले युक्रेनका विभिन्न क्षेत्रमा नियमित रूपमा क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएको छ । पछिल्ला दिनमा युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा देखिएको कमजोरीको फाइदा उठाउँदै रुसले ब्यालिस्टिक क्षेप्यास्त्रसहितका हतियार प्रयोग गरेर आक्रमण तीव्र पारेको युक्रेनी अधिकारीहरूको भनाइ छ ।
युक्रेनले पनि रुसी भूभागमा ड्रोन तथा अन्य हवाई आक्रमण गर्दै आएको छ । युक्रेनी अधिकारीहरूका अनुसार तेल प्रशोधन केन्द्र तथा अन्य औद्योगिक पूर्वाधारमाथिका आक्रमणको उद्देश्य रुसको युद्ध क्षमतालाई कमजोर पार्नु हो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जुलाईमा युक्रेनमा ४३७ सर्वसाधारणको मृत्यु भएको थियो, जुन मे २०२२ यताकै उच्च मासिकको सङ्ख्या हो । रुसी अधिकारीहरूले पनि जुलाईमा आफ्नो भूभागमा ७९ सर्वसाधारणको मृत्यु भएको बताएका छन् ।




