विराटनगर, भदौ १ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नेतृत्व रहेको कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी सहभागी हुने गरी सरकारमा जाने मन्त्रीहरुको नामको टुङगो लागेको छ । एमाले नेतृत्वको सरकारमा नेकपाले चार मन्त्री र एक जना राज्यमन्त्रीको नामको टुङगो लागेको हो ।

सरकारमा कसकसलाई पठाउने भन्ने विषयमा छलफल गर्न नेकपा कोशी इञ्चार्ज राजेन्द्र राई, दलका नेता इन्द्रबहादुर आङ्बो र संयोजक हर्क नेम्वाङको बैठक बसेको थियो । तीन शीर्ष नेताहरुको बैठकले सरकारमा जाने मन्त्रीहरुको नामको टुङगो लागेको लगाएसँगै कोशी प्रदेश सरकार विस्तार हुने भएको छ ।

प्राप्त जानकारी अनुसार नेकपाले सरकारमा जाने मन्त्रीहरुमा खिनु लङ्वा लिम्बू, जीवन आचार्य, गीता तिम्सिना, सोलुखुम्बुका गोम्बु शेर्पा र राज्यमन्त्रीमा सपना दर्जीको नाममा सहमति जुटाएको छ । एमालेसँग भएको सहमति अनुसार नेकपाले भौतिक पूर्वाधार विकास मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाउने भएको छ ।