काठमाडौँ, भदौ १ गते । खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकारको ध्यानाकर्षण भएको छ । राष्ट्रियसभा बैठकको आजको शून्य समयमा सांसदहरुले सो विषयमा राष्ट्रियसभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
सांसद गीता देवकोटाले पारदर्शी वितरण प्रणाली कायम गर्न, कालोबजारी नियन्त्रण गर्न तथा पर्याप्त ग्यास भण्डारणको व्यवस्था गर्न माग गर्नुभयो । सांसद रञ्जित कर्णले ग्यास अभावका कारण दैनिक जीवनमा समस्या आएकाले ग्यासको विकल्प रोज्नुपर्ने बताउनुभयो । त्यस्तै, सांसद रोश्नी मेचेले खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।
शून्य समयमा बोल्दै सांसदले रोल्पा, जाजरकोटलगायतका जिल्लामा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रतिमा दुःख व्यक्त गर्दै प्रभावित तथा विस्थापित परिवारलाई राहत उपलब्ध गराउन माग गर्नुभयो ।
सांसद मिना सिंह रखालले विपद् केबल प्राकृतिक घटना नभई पूर्वतयारी, उद्धार र राज्यको तत्काल उपस्थितिको परीक्षासमेत भएको बताउनुभयो । सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो । सांसद रामकुमारी झाँक्रीले शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने गृहमन्त्री र सुरक्षाकर्मीमाथि अनावश्यक लाञ्छना लगाइएको भन्दै आपत्ति जनाउनुभयो ।




