काठमाडौँ, भदौ १ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शैक्षिक समस्याको दिगो नीतिगत समाधान खोज्ने बताउनुभएको छ । मन्त्री पोखरेलले आज सामाजिक सञ्जालमा पोष्ट गर्दै शिक्षामन्त्रीका रूपमा पदबहाली गरेदेखि नै आफूले शिक्षा क्षेत्रका विषयलाई गम्भीरतापूर्वक बुझ्न ‘सुन्ने र सिक्ने’ शैली अपनाउँदै आएको बताउनुभएको हो ।
पहिलो १०० दिनमा तत्कालीन सुधार र सुशासनका लागि आवश्यक केही नियम तथा निर्देशिकामा काम गरिएको र अब मन्त्रालयको प्राथमिकता नयाँ शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन तथा उच्च शिक्षामा समसामयिक सुधारमा केन्द्रित रहेको उहाँको भनाइ छ । यसै क्रममा मन्त्रालयका प्रमुख सल्लाहकार तथा विद्यालय शिक्षा महाशाखा प्रमुखको टोलीले ‘शिक्षा संवाद’ कार्यक्रममार्फत सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाका समस्या, सुझाव र अपेक्षा सङ्कलन गरिरहेको छ ।
संवादमार्फत स्थानीय तह, शिक्षक, शिक्षा कर्मचारी, अभिभावक, विद्यालय तथा विद्यार्थीका सरोकार प्रत्यक्ष रूपमा सुन्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । प्रारम्भिक बाल विकास (इसिडी) सहजकर्ता, शिक्षक, विद्यालय व्यवस्थापन, विद्यालय कर्मचारी, अभिभावक तथा विद्यार्थीका समस्या र सरोकारलाई पनि संवादको प्राथमिकतामा राखिएको छ ।
स्थानीय तहको भूमिका, विद्यालय व्यवस्थापनका चुनौती तथा शिक्षा क्षेत्रका विविध नीतिगत समस्याबारे प्राप्त सुझावलाई आगामी सुधारको आधार बनाइने मन्त्री पोखरेलले बताउनुभयो ।
भौतिक रूपमा संवाद कार्यक्रममा सहभागी हुन नसक्ने सरोकारवालाले ‘शिक्षा संवादः सुझाव, समस्या तथा अपेक्षा सङ्कलन फारम’ मार्फत आफ्ना सुझाव, समस्या र अपेक्षा पठाउन सक्ने व्यवस्था गरिएको छ । प्राप्त सुझावलाई नीति निर्माणको प्रक्रियामा समेटिने मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, शिक्षा विभागले सातै प्रदेशमा स्थानीय सरकारलाई समेत सहभागी गराई शिक्षा विधेयकका विषयमा सुझाव सङ्कलन गर्ने तयारी गरेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप (ल्ऋँ) परिवर्तनका लागि गठित विज्ञ टोलीले समेत आफ्नो काम अन्तिम चरणमा पु¥याएको जनाइएको छ ।
मन्त्री पोखरेलले सबै सरोकारवालाको कुरा सुन्दै, आवश्यक विषयमा विज्ञबाट सिक्दै र तथ्यका आधारमा निर्णय गरी शिक्षा विधेयकको काम शीघ्र टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले शैक्षिक समस्याको दिगो नीतिगत समाधान खोज्न मन्त्रालय स्पष्ट र दृढ रहेको बताउनुभयो । ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन ९८५१०१४००६ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।




