काठमाडौँ, साउन २९ गते । मुलुकको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र कम खर्चिलो बनाउन मानक उपचार प्रोटोकल (एसटिपी)लाई स्वास्थ्य बीमासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगको उपचारमा एकरूपता कायम गर्न जारी भएका एसटिपीलाई प्रभावकारी रूपमा लागू गर्ने विषयमा जोड दिइयो ।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा भएको छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत क्युरेटिभ सेवा प्रभागका निर्देशक डा पवनजङ्ग रायमाझीसहित पेडियाट्रिक, न्यूरोलोजी, कार्डियोलोजी, हेमोफिलिया, ओरल हेल्थ, इएनटीलगायत १८ क्षेत्रका विशेषज्ञ चिकित्सक सहभागी हुनुहुन्थ्यो ।

छलफलमा विशेषज्ञ चिकित्सकहरूले आआफ्नो क्षेत्रमा प्रयोग भइरहेका उपचार प्रोटोकलका सहज र कठिन पक्षबारे जानकारी दिँदै सुधारका लागि सुझाव दिनुभएको थियो । विभिन्न विभाग तथा डिभिजनले छुट्टाछुट्टै रूपमा प्रोटोकल बनाउँदा समन्वयको अभाव देखिएकाले त्यसलाई समाधान गर्नुपर्नेमा पनि उहाँहरूले जोड दिनुभएको थियो ।

ग्रामीण तथा सरकारी अस्पतालमा प्रोटोकलअनुसार उपचार गर्न आवश्यक उपकरण, प्रयोगशाला परीक्षण तथा निःशुल्क वितरण गर्ने भनिएका औषधि र उपकरण नियमित उपलब्ध नहुँदा चिकित्सकले प्रोटोकल पालना गर्न कठिनाइ हुने समस्या पनि छलफलमा उठाइएको थियो । यस्ता व्यावहारिक समस्या समाधान गरेर स्वास्थ्य सेवा प्रवाहमा अवरोध नहुनेगरी प्रोटोकल निर्माण गर्नुपर्ने सुझाव दिइएको थियो ।

क्युरेटिभ सेवा प्रभागका निर्देशक डा रायमाझीका अनुसार आवश्यकताका आधारमा हाल १९ वटा प्रोटोकल निर्माण गरिएका छन् । तीमध्ये केही स्वीकृत भएर कार्यान्वयनमा आइसकेका छन् भने केही प्रक्रियामै छन् । कार्यान्वयनमा रहेका प्रोटोकललाई पनि समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

प्रोटोकल प्रभावकारी रूपमा लागू भएमा बिरामीले सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुका साथै उपचार खर्चमा समेत नियमन हुने डा रायमाझीले बताउनुभयो । उहाँका अनुसार आवश्यकताभन्दा बढी सिटीस्क्यान, एमआरआईलगायतका परीक्षण गराउने प्रवृत्तिले स्वास्थ्य बीमा कार्यक्रममाथि आर्थिक भार बढाउने भएकाले आवश्यकताका आधारमा मात्र परीक्षण गर्ने व्यवस्था प्रोटोकलमा समेटिनुपर्छ ।

प्रधानमन्त्री शाहको सचिवालयमा सार्वजनिक स्वास्थ्य तथा नीति अनुसन्धानमा सक्रिय प्रकृति ढकालले प्रोटोकलको प्रभावकारी प्रयोगबाट अनावश्यक परीक्षण र महँगा औषधिको प्रयोग घट्ने, बिरामीको उपचार खर्च कम हुने तथा सरकारी कोषको दुरुपयोग रोक्न सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार विश्वका विभिन्न देशमा उत्कृष्ट ठहरिएका एसटिपीको अध्ययन गरी नेपालमा पनि प्रभावकारी र एकीकृत मानक स्थापित गर्न प्रधानमन्त्रीको सचिवालयले गृहकार्य गरिरहेको छ ।