काठमाडौँ, साउन २९ गते । नेपाली काङ्ग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताका दैनिकी समस्या समाधान गरी जनतामा आशा जगाउनुपर्ने बताउनुभएको छ । काङ्ग्रेसको संस्थापन पक्षइतरको आजदेखि यहाँ सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले जनतामा देखिएका निराशाा आशामा बदल्न कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री देउवाले मुलुकको अवस्था अहिले संवेदशील देखिएको बताउँदै सबै सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । मुलुकको इतिहास सबै लोकतान्त्रिक आन्दोलन काङ्ग्रेसको नेतृत्वमा नै सफल भएको र त्यसमा पुर्खा र अग्रजहरूले भोगेको कठिनाइ र सङ्घर्षलाई कसैले पनि बिर्सन नहुने उहाँले उल्लेख गर्नुभयो ।

तिनै परिवर्तनले नै जनताका मौलिक हक प्राप्त भएका र यसमा काङ्ग्रेसीजनहरूले गर्व गर्नुपर्ने उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्री देउवाले मुलुकका हरेक परिवर्तनमा प्रायः सबै दलबीच एकता हुने गरेको र त्यो नेपालको मौलिकपन भएको बताउनुभयो ।

उहाँले लामो गौरवमय इतिहास भएको काङ्ग्रेसमा विशेष महाविधेशनले हाल कमजोर बनाउने काम भएको उल्लेख गर्दै सर्वोच्च अदालतबाट न्याय हुने अपेक्षा गर्नुभयो । चार पुस्ता भएको कांग्रेसमा असहमतिलाई कम गर्न सबैलाई न्याय हुनेगरी अघि बढ्न सबै लाग्नुपर्नेमा उहाँको जोड थियो ।

पूर्वप्रधानमन्त्री देउवाले संविधानप्रदत्त अधिकारको संरक्षण, राष्ट्रिय सहमति र जनताका हितका लागि काम गर्न आफू सदैव तयार रहेको बताउनुभयो । राष्ट्रियता, समाजवाद र लोकतन्त्र आफ्नो जीवनको मूल आदर्श भएको बताउँदै उहाँले यसमा आफूले कहिल्यै पनि सम्झौता नगरेको बताउनुभयो । साथै उहाँले गणतन्त्र संस्थागत गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफू पाँच महिनापछि स्वास्थ्योपचार गरेर हिजोमात्र फर्केको र स्वागतका लागि विमानस्थलमा ठूलो सङ्ख्यामा आएका नेता, कार्यकर्ताप्रति आभार व्यक्त गर्नुभयो ।

समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशन रोकेर पार्टीमा एकता कायम गर्नका लागि आफूले गरेको प्रयासबारेमा जानकारी गराउनुभयो । उहाँले त्यसका लागि आफूले महिना दिनसम्म केन्द्रीय समितिको बैठक लम्ब्याउने अवस्था बनेको स्मरण गर्दै त्यसका लागि आफूले अपजस खेप्नुपरेको समेत बताउनुभयो । उहाँले विशेष महाधिवेशनले पार्टीमा फुट आउँछ भनेर तत्कालीन सभापति शेरबहादुर देउवाले भनेको कुरा सम्झेर आफूले काम गरेको जानकारी दिनुभयो ।

पार्टी एकताका लागि गाउँ गाउँ पुगेर नेताकर्तामा उत्साह थप्न सबैसँग आग्रह गर्दै नेता खड्काले भेलाले वर्तमान कार्यसमितिका पदाधिकारीलाई सच्याउन र एकतामा फर्कनका लागि दबाब दिने उल्लेख गर्नुभयो ।

वरिष्ठ नेता डा शेखर कोइरालाले काङ्ग्रेसले मुलुकमा हाल देखिएको समस्या समाधानमा अन्य दलसँग मिलेर काम गर्नुपर्ने र राष्ट्रियता बलियो बनाउन लाग्नुपर्नेमा जोड दिनभयो । उहाँले मुलुकका संवैधानिक निकायसँगै न्यायापालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउँदै काङ्ग्रेसका बारेमा यसअघि न्यायालयले दिएको निर्णय पनि सहजै स्वीकार गरेको जानकारी गराउनुभयो । नेता डा कोइरालाले राष्ट्रिय भेलापछि मुलुकभर कांग्रेसमा एकताको सन्देश जाने बताउँदै यसमा सबै लाग्न आग्रह गर्नुभयो ।

पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक प्रक्रियाबाट नै काम गर्नुपर्ने अग्रजहरूले सिकाएको बाटो कसैले पनि बिराउन नहुने बताउनुभयो । गत पुस अन्तिम साता भएको पार्टीको विशेष महाधिवेशन विधानसम्मत नभएको दाबी गर्दै उहाँले सत्य कुरा सबैले सुन्नुपर्ने र आत्मसात् गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सामाजिक सञ्जालमा पुराना दलले काम गर्न सकेनन् भनेर भ्रम सृजना गरिएको र त्यो भ्रम विस्तारै आफँै हट्दै जान थालेको बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्री एवं पार्टीका नेता विमलेन्द्र निधिले विशेष महाविधेशन कब्जा गरेर गरिएको आरोप लगाउँदै यस कार्यसमितिका पदाधिकारीलाई १५औँ महाधिवेशन लड्ने अधिकार नहुने दाबी गर्नुभयो । साथै उहाँले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले १५औँ महाधिवेशनको तयारी थाल्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वउपप्रधानमन्त्री एवं पार्टीका नेता विजयकुमार गच्छदारले निवर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा काङ्ग्रेस पार्टीमात्र होइन सम्पूर्ण लोकतान्त्रिक शक्ति एक हुनुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले यो राष्ट्रिय भेला पार्टी एकताको प्रतीक बनेको उल्लेख गर्नुभयो ।

पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले यसअघि कांग्रेसको विशेष महाधिवेशनका सन्दर्भमा निर्वाचन आयोगले गरेको निर्णयप्रति असहमति जनाउँदै त्यसबेला विस्तृत रूपमा अध्ययनसमेत नभएको भनी निर्वाचन आयुक्तहरूसँग प्रश्न गर्नुभयो । उहाँले सर्वोच्च अदालतले काङ्ग्रेसको आधिकारिकता सम्बन्धमा पुनरावलोकनका लागि निस्सा दिएपछि आशा पलाएको बताउनुभयो । काङ्ग्रेसको संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको हो ।