काठमाडौँ, साउन २९ गते । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र तोक आदेशद्वारा विचाराधीन मुद्दा तोक्ने निर्णय सच्याउन माग गरेको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा संवैधानिक इजलासको छनोटपूर्ण गठन र तोक आदेशद्वारा विचाराधीन मुद्दा तोक्ने निर्णय तत्काल सच्याउन माग गरिएको हो ।
विज्ञप्तिमा भनिएको छ, “खुला इजलाससमक्ष विचाराधीन मुद्दा पेसीका दिन बहस, छलफलद्वारा कुन इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुङ्गो लगाउने परम्परा र अभ्यास रहिआएकामा टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्त्वको मुद्दा संवैधानिक इजलासमा सार्नु संवैधानिक मूल्यमान्यता अनुसार छैन ।”




