काठमाडौँ, साउन २९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले नयाँ नीति, ऐन तथा कानुन निर्माण हतारमा गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताउनुभएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारणसभामा उहाँले निजी क्षेत्रसँग मागिएका सुझाव प्रभावकारी रूपमा नसमेट्ने प्रवृत्तिले नीति कार्यान्वयनमा समस्या आउने गरेको घटना सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “कुनै पनि नीति वा ऐन ल्याउनुअघि पर्याप्त छलफल र संवाद आवश्यक छ, हतारमा सुझाव माग्ने र त्यसपछि सुझाव समेटिएन भनेर निजी क्षेत्र निरास हुने अवस्था अन्त्य हुनुपर्छ ।”

नीति निर्माण प्रक्रियामा निजी क्षेत्रलाई केवल साक्षीका रूपमा मात्र उपस्थित नगराई वास्तविक साझेदारका रूपमा सहभागी गराउनुपर्ने अध्यक्ष श्रेष्ठले धारणा राख्नुभयो । अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले व्यावसायिक वातावरण सुधार, लगानी विस्तार र रोजगारी सिर्जनासम्बन्धी नीति बनाउँदा निजी क्षेत्रको अनुभव र सुझावलाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँको भनाइ थियो ।

सरकार र निजी क्षेत्रबीचको सम्बन्ध नियन्त्रणमुखी नभई विश्वास र साझेदारीको हुनुपर्नेमा जोड दिँदै अध्यक्ष श्रेष्ठले व्यावसायिक वातावरण सहज र लगानीमैत्री बनेमा निजी क्षेत्र बलियो भई समग्र अर्थतन्त्र तथा सरकारको राजस्वसमेत वृद्धि हुने बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्रलाई दिगो र सन्तुलित बनाउन पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।