काठमाडौँ, साउन २२ गते । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि संसद्मा उठाउँदै आएका विषयमा स्पष्ट पार्न सरकार र समाभुखको ध्यानाकर्षण गराउनुभएको छ । बढ्दो महँगी नियन्त्रण गर्न, खाना पकाउने ग्यासको अभाव हटाउन अनुरोध गर्नुहुँदै उहाँहरूले संसद्मा उठाएका माग सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा समय लिएर नेकपा (एमाले)का सांसद कृपाराम रानाले नेपालको नक्सामा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुराका बारेमा पछिल्ला दिनमा विभिन्न टीकाटिप्पणी भइरहेकाले स्पष्ट गर्न सरकारसँग अनुरोध गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले संसद्लाई व्यवस्थित, मर्यादित र नियमावलीबमोजिम सञ्चालन गर्ने सभामुखको इच्छाप्रति सम्मान गर्दै प्रधानमन्त्रीबाट यसअघि संसद्मा जमिन मिचेको सन्दर्भमा व्यक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गर्नुभयो ।
श्रम संस्कृति पार्टीका ध्रुर्वराज राईले आफूहरुले उठाएका सवालमा सरकारले जवाफ नदिएको र सभामुखले पनि समाधानको विन्दु नखोजेको भनी आपत्ति व्यक्त गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका खुश्बु ओलीले सुनसरी र सिरहामा हालै भएको घटनामा मृतक र घाइते परिवारसँग भएका सहमतिको कार्यान्वयनका लागि ध्यानाकर्षण गराउनुभयो ।




