संयुक्त राष्ट्रसङ्घ, साउन २२ गते । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले बिहीबार पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको उत्तरपश्चिमी स्वात जिल्लाको प्रहरी चौकीबाहिर भएको ‘जघन्य र कायरतापूर्ण’ आत्मघाती आक्रमणको कडा निन्दा गरेको छ । तेहरिक–ए–तालिबान पाकिस्तानले आक्रमणको दावीसहित जिम्मेवारी लिएको छ ।
परिषद्का सदस्यहरूले पीडित परिवार र पाकिस्तानको सरकार र जनताप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनीहरूले आतङ्कवादका यी निन्दनीय कार्यका अपराधी, आयोजक र प्रायोजकहरूलाई जवाफदेही बनाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने आवश्यकतालाई जोड दिएका छन् । यस सन्दर्भमा पाकिस्तानी सरकार र अन्य सबै सम्बन्धित अधिकारीहरूसँग सक्रिय रूपमा सहयोग गर्न सबै राज्यहरूलाई आग्रह गरिएको छ ।
आतङ्कवादका विभिन्न रूप र अभिव्यक्तिहरू अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतराहरू भएको जनाउँदै सुरक्षा परिषद्ले आतङ्कवादी कार्यहरूले गर्दा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा हुने खतराहरूसँग सबै राष्ट्रहरूले सबै तरिकाले लड्नुपर्ने कुरामा जोड दिएका छन् ।
विस्फोटमा एक आत्मघाती बम विस्फोटक टोलीले प्रहरी स्टेसनमा प्रवेश गर्ने प्रयास गरिरहेको अवस्थामा मुख्य गेटमा प्रहरीले रोक्दा उनीहरुले विस्फोटकहरू विस्फोट गरेको जनाइएको छ ।
थप पीडित तथा घाइतेहरुको समेत मृत्यु भएपछि मृतकको सङ्ख्या १९ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।




