झापा, साउन २२ गते । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका तथा विद्यालय बाहिर रहेका १२५ जना बालबालिकालाई लक्षित गर्दै वैकल्पिक कक्षा सञ्चालन गर्ने भएको छ । विसं २०६३ असोज २ गतेपछि जन्मिएका र आधारभूत तह कक्षा ८ उत्तीर्ण गर्न नसकेका बालबालिकालाई अनिवार्य आधारभूत शिक्षा पूरा गराउने उद्देश्यले वैकल्पिक कक्षा सञ्चालन गर्न लागिएको हो ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को व्यवस्था कार्यान्वयन गर्दै नगरपालिकाले दोस्रो पटक सूचना प्रकाशित गरी पढ्न छुटेका बालबालिकालाई पढ्न आउन अनुरोध गरेको छ ।

वडा नं ६ मा २९, वडा नं ४ मा १९, वडा नं २ मा १७, वडा नं ५ मा १७, वडा नं ३ मा १६, वडा नं ९ मा १४, वडा नं ८ मा १०, वडा नं १ मा आठ र वडा नं ७ मा सात जना गरी कुल १३७ बालबालिका कक्षा ८ पूरा नगरी विद्यालय बाहिर रहेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले राससलाई बताउनुभयो ।