काठमाडौँ, असार १ गते । नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ । हालै भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले धादिङको सडक अनुगमनका क्रममा ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उपसभापति शर्माले प्रधानमन्त्री शाहलाई भिडियो सन्देशमार्फत मन्त्रीहरूको बोलीमा लगाम लगाउन सुझाव दिनुभएको हो ।
शर्माले भिडियो सन्देशमार्फत भन्नुभएको छ, ‘हामी यस्तै समाजतर्फ जाँदैछौँ ? प्रधानमन्त्रीज्यु यदि जाँदै छैनौँ भने कम्तीमा आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस ।’
कैलालीमा कर्मचारीहरुले एक श्रमिक महिलाको टेम्पोलाई भिरबाट खसालिदिएको घटना र सिरहामा परीक्षा हलमा भेटिएका ५०० भन्दा बढी मोबाइललाई पानीमा खन्याएर नष्ट गरेको घटनालाई पनि स्मरण गर्दै उपसभापति शर्माले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यू समाज कता जाँदै छ ? यहाँलाई सोधौ लाग्छ । तर, यहाँले पनि चुनावकै बेलामा के भन्नु भएको थियो भने यदि बाटो निर्माण गर्न ढिलो भयो भने रुखमा बाँधेर समाधान गर्नुपर्छ ।’





