काठमाडौँ, जेठ ३१ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
नेपाली युवा उद्यमी मञ्चले आज यहाँ आयोजना गरेको ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’लाई सम्बोधन गर्दै मन्त्री यादवले युवालाई सीप, रोजगार र उद्यमशीलतासँग जोड्न सरकारले राष्ट्रिय अभियान अगाडि बढाएको बताउनुभयो । उहाँले सरकार एक्लैले रोजगार सिर्जना गर्न नसक्ने र रोजगार सिर्जना गर्ने निजी क्षेत्रले नै भएको बताउनुभयो । मन्त्री यादवले आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवद्र्धनको दशक’का रूपमा मनाइने बताउनुभयो । देशको समृद्धि युवाको पसिना स्वदेशमै बगाउँदा मात्र सम्भव हुने उहाँको भनाइ थियो ।
मन्त्री यादवले आफ्नो मन्त्रालयको ८० प्रतिशत समय वैदेशिक रोजगारीका समस्या समाधानमा खर्च भइरहेको बताउनुभयो । ‘सरकार, रोजगारदाता र श्रमिक’ बीचको त्रिपक्षीय सहकार्यमार्फत रोजगारीका अवसर वृद्धि गरिने उहाँको भनाइ थियो । सूचना प्रविधि, पर्यटन, कृषि प्रशोधन र ‘ग्रीन इकोनोमी’मा नेपालको उज्ज्वल भविष्य रहेको मन्त्री यादवले उल्लेख गर्नुभयो । उहाँले सरकार सधँै उद्यमीको साथमा रहेको बताउनुभयो ।
नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष सुदीप घिमिरेले देशका विभिन्न क्षेत्रका युवा उद्यमीलाई एउटै मञ्चमा ल्याउने र उद्यमशीलताका माध्यमबाट देशको आर्थिक समृद्धिमा योगदान पु¥याउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले मञ्चमा आबद्ध युवा उद्यमीले हाल देशभर ८० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको बताउनुभयो । दुई दशक अगाडि केही युवा उद्यमीको सपनाबाट सुरु भएको मञ्चमा अहिले देशका १५ वटा च्याप्टर र १२०० भन्दा बढी सक्रिय सदस्यको बलियो राष्ट्रिय सञ्जालमा विस्तार भएको उहाँले बताउनुभयो ।
सम्मेलनमा स्टार्टअप संस्थापक, नवप्रवर्तनकर्ता र पारिवारिक व्यवसायलाई नयाँ उचाइमा पु¥याइरहेका युवा नेतृत्वको उपस्थिति रहेको थियो । उहाँले सरकारले हालै सार्वजनिक गरेको बजेटमा ‘स्टार्टअप’ र युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेकामा खुसी व्यक्त गर्नुभयो । सम्मेलनमा युवा उद्यमीले राज्य, निजी क्षेत्र र वित्तीय संस्थालाई युवाको नवीन सोच र ऊर्जामा लगानी गर्न आह्वान गरेका छन् ।





