म्याग्दी, जेठ ३१ गते । जिल्लाको मालिका गाउँपालिकाको अदिभारा-टाक्से-रुम सडकमा छ वर्षपछि यातायात सञ्चालन हुन थालेको छ । स्थानीयले घरजग्गा धितो राखेर विसं २०७५ मा मार्ग खोलेका उक्त सडकको टाक्से खण्डमा पहिरो खसेपछि विसं २०७७ देखि बन्द भएको थियो ।
रुम म्याग्दी जिल्लाको ठूलो बस्तीमध्येमा पर्ने वडा हो । रुमलाई पालिकाको केन्द्र दरवाङ बजारसँग जोड्ने यो सडकमा पछिल्लो दुई महिनायता नियमित सवारीसाधन सञ्चालन भइरहेका मालिका-२ का वडाध्यक्ष उदयकुमार बूढाथोकीले बताउनुभयो ।
“मालिका गाउँपालिकाले सञ्चालन गरेको अदिभारा-टाक्से-रुम मोटरबाटो आयोजनामार्फत सडकको पहिरो रोकथाम, नयाँ मार्ग खोल्ने, ग्रेड तथा मोड सुधार गरेर छ वर्षपछि सवारीसाधन सञ्चालन हुने बनाइएको हो”, उहाँले भन्नुभयो, “रुमवासीलाई पालिकाको केन्द्र दरबाङ र जिल्ला सदरमुकाम बेनी आउनजानका लागि घुमाउरो सडकको यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।”
विसं २०८१ पुस २५ गते रु दुई करोड ४८ लाख ८७ हजार छ सय छ मा विके कन्स्ट्रक्सनसँग सम्झौता भएको आयोजनाको ८० प्रतिशत भौतिक प्रगति भएको गाउँपालिकाले जनाएको छ । पालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले बिलबाङ-टाक्से खण्डमा दुई दशमलव पाँच किमी नयाँ मार्ग खोल्ने, टेवा र पलम पर्खाल निर्माण, घुम्ती र ग्रेड सुधारको काम सकिएकामा ढलानको काम बाँकी रहेको वडाध्यक्ष बूढाथोकीले बताउनुभयो ।
विसं २०८२ असारमा सम्पन्न हुनुपर्ने आयोजनाको काम निर्माण व्यवसायीले पर्याप्त उपकरण, मजदूर परिचालन गर्न नसक्नु, प्रतिकूल भूगोललगायत कारणले एक वर्ष ढिलागरी सम्पन्न हुन लागेको हो । योसँगै रुम, बिलवाङका बासिन्दालाई निस्कोट र औँला हुँदै घुमाउँरो सडकको यात्रा गर्नुपर्ने समस्या हटेको स्थानीयवासी प्रकाश पटेलले बताउनुभयो ।
रुमबाट जेम, बेली, औँला, स्याउलुङ हुँदै अदिभारा जोड्ने १७ किमी दूरीको घुमाउँरो सडकमा यात्रा गर्दा एक घण्टा ३० मिनेट लाग्ने गरेकामा रुम-बिलवाङ-टाक्से-अदिभारा जोड्ने नौ किमी दूरी अब ४० मिनेटमा पार गर्न सकिने उहाँले बताउनुभयो । सडक मर्मत भएपछि यात्राअवधि छोटिएको उहाँको भनाइ छ ।
मालिका गाउँपालिकाका प्रवक्ता अनुप गौचनले उक्त खण्ड ठूलो बस्ती रुम र छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने छोटो दूरीको भएकाले अदिभारा-टाक्से-रुम सडकलाई पालिकाले प्राथमिकता दिएको बताउनुभयो । स्थानीयको माग अनुसार टाक्से खोलामा मोटरेबल पुल निर्माण र पहिरोबाट प्रभावित जोखिमयुक्त सडकलाई सुरक्षित बनाउन पहल गरिएको उहाँले जानकारी दिनुभयो ।





