विराटनगर, जेठ ३१ गते । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको तीव्र मतभेदका बाबजुद आफूले कुनै पनि हालतमा काङग्रेस फुट्न नदिने दावी गर्नुभएको छ । नेता कोइरालाले आज आइतबार विराटनगरमा आयोजित पार्टीको संस्थापन इतर पक्षको कोशी प्रदेशस्तरीय एकता भेलालाई सम्बोधन गर्दै पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

पछिल्लो समय पार्टीभित्र निरङ्कुशताको सङ्केत देखिएको बताउँदै नेता कोइरालाले भन्नुभयो, ‘नेपाली काङ्ग्रेसको जन्म नै लोकतन्त्रको स्थापना र निरङ्कुशताको अन्त्यका लागि भएको हो, तर अहिले अद्यावधिक गर्न नमानेको बहानामा देशैभरिका वडा सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भइरहेको छ । यो निरङ्कुशताको सुरुवात हो, जुन काङ्ग्रेसको आदर्शविपरीत छ ।’
नेता कोइरालाले मुलुकमा जबजब अप्ठ्यारो परिस्थिति आउँछ, तबतब जनताले काङ्ग्रेसलाई नै सम्झिने गरेको उल्लेख गर्दै अहिलेको राष्ट्रिय आवश्यकता सहमति, सहकार्य र एकता नै भएको बताउनुभयो । पार्टी नेतृत्वप्रति सङ्केत गर्दै नेता कोइरालाले आफू सुरुमा कुनै प्रस्ताव लेख्ने मनस्थितिमा नरहेको भए पनि परिस्थितिका कारण सभापति गगन थापालाई ५ बुँदे प्रस्ताव बुझाउन बाध्य भएको खुलासा गर्नुभयो ।





