काठमाडौँ, जेठ ३१ गते । कटनको सेतो सर्टमा जुटको टालो टाँसिएको छ । सियो धागोले सिलाएको उक्त टालो खैरो रङको छ । टालेको सर्ट लगाएर विश्वप्रसिद्ध फेशन डिजाइनर प्रवल गुरुङ आफ्नो पुस्तक ‘वक लाइक अ गल्स’ को हस्ताक्षर कार्यक्रममा उपस्थित हुनुभयो ।
पुस्तकको चर्चा जति थियो, उत्तिकै उहाँले लगाउने पहिरनले पाठकको ध्यान खिचेको थियो । खासगरी नेपाली समाजमा च्यातिएको र टालिएको लुगा लगाउनु गरिबीको सङ्केत दिन्छ । तर, फेशन डिजाइनर गुरुङले भने आफूले लगाएको उक्त टालेको सर्ट निकै महँगो अमेरिकी डलरमा किनेको बताउनुभयो । “टालेको सर्ट अमेरिकामा डलर हालेर किनेर लगाए, यो स्टाइल हो ।”
शनिबार जमलस्थित मण्डला बुक प्वाइन्टमा पुस्तक हस्ताक्षर कार्यक्रममा देखिनुभएका गुरुङले भन्नुभयो, “लुगा कस्तो लगाउनेभन्दा पनि कसले र कति आत्मविश्वासका साथ लगाएको छ भन्ने कुराले निकै महत्व राख्छ ।” उहाँले आत्मविश्वासका साथ टालेको लुगा लगाउदा पनि राम्रो र प्रभावकारी व्यक्तित्व झल्किन सक्ने सन्देश दिन उक्त पहिरन लगाएको बताउनुभयो ।
अमेरिकामा बस्दै आउनुभएका गुरुङ प्रत्येक एक वर्षमा दुई पटक नेपाल आउने गर्नुहुन्छ । नेपालमै बसोबास गर्ने परिवारलाई भेट्न उहाँले जतिसुकै व्यस्त भए पनि समय मिलाउने गरेको बताउनुभयो । “जहाँ जाउ यो मन त मेरो नेपाली नै हो नी”, गुरुङले भन्नुभयो, “नेपाली खाना, मुमा ९आमा० को माया र यहाँको संस्कृतिले मन छुन्छ”, उहाँले भन्नुभयो, “वर्षमा दुई पटक आमाको हातले पकाएको गुन्द्रुकको अचार, दाल भात खान आएकै हुन्छु ।”
नेपाली मुलुकका गुरुङ सिङ्गापुरमा जन्मिनुभयो र भारतमा हुर्किनुभयो । दिल्लीको नेशनल फेशन इन्स्टिच्युटमा अध्ययन गरेर उहाँले फेशन डिजाइनरको करिअर न्यूयोर्कबाट सुरु गर्नुभयो । गुरुङले सन्, १९९९ मा न्युयोर्कबाट फेशन डिजाइनसम्बन्धी औपचारिक शिक्षा लिनुभयो । साथै, अन्तरराष्ट्रिय ब्रान्डमा फेशन यात्रामा सक्रिय भई सफलताको उचाइमा पुग्नुभएको हो ।
गुरुङले हलिउडदेखि बलिउड फिल्मी क्षेत्रका प्रख्यात व्यक्तित्वहरुका लागि फेशन डिजाइन गरेर नेपालको नाम स्थापित गर्नुभएको छ । उहाँले तत्कालिन अमेरिकी प्रथम महिला मिचेल ओमाबादेखि बेलायती राजकुमारीको रोजाइको पहिरन फेसन डिजाइन गरेपश्चात् भने अन्तरराष्ट्रिय क्षेत्रमा चर्चा चुलिएको थियो । यसलाई गुरुङले करिअरको सबैभन्दा महत्वपूर्ण क्षणका रुपमा लिनुहुन्छ ।
फेशन डिजाइन यात्रामा झण्डै तीन दशक परिपक्व देखिए पनि गुरुङ यस क्षेत्रमा भर्खरै सुरुआत गर्दै गरेको धारणा राख्नुहुन्छ । उहाँका अनुसार फेशन क्षेत्रमा सिक्ने तत्परता सधैँ कामय राख्नुपर्छ । सिक्ने निरन्तरतालाई नै उहाँले आफ्नो सफलताको मुल सुत्र मान्नुभएको छ । गुरुङले भन्नुहुन्छ, “फेशन क्षेत्र सागर हो । जति सिक्दै गयो उति गहिराइमा पुगिन्छ । त्यसैले मैले यस क्षेत्रमा भर्खरै बामेसर्दै गरेको शिशु ठान्छु । अझै धेरै काम गर्न बाँकी छ ।”
हारपर कोलिन्सले सन्, २०२६ मा प्रकाशन गरेको गुरुङको पुस्तक ‘वक लाइक अ गल्स’ को कथा रोचक छ । उहाँले केटीको चालमा केन्द्रित भएर पुस्तकको शीर्षक राख्नुमा गुरुङकै बाल्यकालको भोगाइ समेटिएको बताउनुभयो । सानो छँदा केटी जस्तै हिँड्ने भन्दै साथीभाइले गिज्याउने गरेको क्षणलाई उहाँले किताबको मुख्य शीर्षक बनाएको सुनाउनुभयो ।
सृष्टि सिर्जना गर्ने क्षमता राख्ने महिला पात्रप्रति समाजको हेपाह दृष्टिलाई चिर्न पनि पुस्तकको शीर्षक यस्तो राख्नुपरेको गुरुङले बताउनुभयो । “केटी जस्तो हिँड्दा के फरक पर्छ रु म त भन्छु हिँडाइ केटीको जस्तै हुनुपर्छ”, उहाँले भन्नुभयो, “जहाँ, शान्ती, सभ्यता र गाम्भीरता झल्किन्छ ।” एक अर्थमा गुरुङले पुस्तकमार्फत नारी अस्तित्वलाई स्वीकार भावले हेर्न आग्रह गरेको प्रष्ट पार्नुभयो ।
यसैगरी, अर्को दृष्टिमा आफ्नो पुस्तकले युवापुस्तालाई लक्ष्य प्राप्तिका लागि सङ्घर्ष गर्न प्रेरणा मिल्नसक्ने गुरुङले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मैले चर्चा पाउन काम सुरु गरिन्, मेहनतको निरन्तरताले गर्दा सफलता आफैँ आउँदै गयो । पुस्तकले यही सन्देश दिन खोजेको छ, मेहनत गर । सफलता आफैँ आउँछ”, मण्डला बुक प्वाइन्टका प्रमुख सिद्धार्थ महर्जनले गुरुङको हस्तारक्षित १०० भन्दाबढी पुस्तक बिक्री भएको बताउनुभयो । पाठकहरु पुस्तक किन्नुका साथै गुरुङसँग भलाकुसारी गर्ने अवसर पाउँदा हर्षित थिए ।





