काठमाडौँ, जेठ ३१ गते । वैदिक कृषि पद्धति नेपालजस्ता देशका लागि सबैभन्दा उपयुक्त माध्यम हुनेमा जोड दिइएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘वैदिक प्राङ्गारिक कृषि एकदिने राष्ट्रिय सम्मेलन’ मा वैदिक कृषि पद्धतिबाट उत्पादित खाद्य पदार्थको पौष्टिक गुणस्तरका साथै बाली, माटो र वातावरणसँग कृषकको सम्बन्ध अझै सुदृढ बनाउने भएकाले यसप्रति विश्वव्यापी रुपमा आकर्षण बढिरहेकामा यस क्षेत्रका विज्ञले जोड दिएका हुन् ।

नेपालमा भने यसलाई अझै प्रवर्द्धन गरिनुपर्नेमा पनि विज्ञले जोड दिएका हुन् । लामो समयदेखि वैदिक कृषिसमेत गर्दै आउनुभएका फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले अमेरिकाका सबै राज्यले छुट्टाछुट्टै ऐन बनाएर वैदिक प्राङ्गारिक कृषि पद्धति अघि बढाएका जानकारी दिनुभयो । 

नेपालमा पाँच दशकअघिसम्म वैदिक प्राङ्गारिक कृषि हुने गरेकामा क्रमशः रासायनिक मलका साथै विभिन्न प्रकारका विषादीको आगमनले माटो बिग्रिएर स्वच्छ उत्पादन नहुने अवस्था आएको उहाँले बताउनुभयो । आधुनिक प्रविधिसहित वैदिक एवं प्राङ्गारिक खेतीमा नेपालका सबै किसानलाई आबद्ध गराउने अभियानस्वरुप फाउन्डेसनले एकदिने सम्मेलन गरेको र यसलाई निरन्तरता दिने अध्यक्ष बास्कोटाले प्रतिबद्धता जनाउनुभयो । 

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा हरिबहादुर केसीले कृषिमा विषादी हाम्रै पालामा सुरु भएकाले हामीले यसलाई सच्याउनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा लाग्ने कीरा मार्न जुकाको प्रयोग गर्ने विधि पनि रहेको उल्लेख गर्दै उहाँले यस विषयमा आफूले विद्यावारिधि शोधसमेत गरेकाले यस्ता मौलिक विधिलाई विषादीका विकल्पका रूपमा उपयोग गरिनुपर्नेमा जोड दिनुभयो । 

कृषिमा विषादीको विकल्पमा प्रयोग गरिने जैविक विधिका विषयमा नीतिनिर्माण गर्ने कामममा पनि मन्त्रालय लागिपरेको योजना महाशाखा प्रमुखसमेत रहनुभएका सहसचिव केसीले बताउनुभयो । उपभोक्ता सचेत हुँदै गएकाले विषादीका ठाउँमा जैविक विषादी पनि प्रयोग गर्नुपर्नेमा पनि उहाँको जोड छ । 

महर्षि वैदिक कृषिका निर्देशक भूपेन्द्र खनियाँले धेरैलाई वैदिक कृषि पुरातन विधि हो र यो अहिलेको प्राङ्गारिक विधिभन्दा फरक छ भन्ने लाग्ने बताउनुभयो । यो प्राङ्गारिक विधिमा अरु थप केही हाम्रा परम्परागत अभ्यास समावेश गरिने विधिका रूपमा रहेको उहाँको भनाइ छ ।

“वैदिक प्राङ्गारिक हुन पहिले प्राङ्गारिक हुनु पर्दछ । यसकारण महर्षि वैदिक प्राङ्गारिक खेतीलाई ‘प्राङ्गारिकभन्दा माथि’ मानिन्छ । महर्षि वैदिक कृषिले खासगरी कृषकको चेतना, खाना, शरीर र वातावरणबीचको घनिष्ट सम्बन्ध स्थापित गर्दछ । कृषकको चेतनाको स्तरले खाद्यवस्तुको गुणस्तर निर्धारण गर्दछ । खानाको गुणस्तरले हाम्रो मन र शरीरलाई प्रभाव पार्दछ । हाम्रो मन र शरीरको स्वास्थ्य नै व्यवहारमा झल्कने हो । यसकारण वैदिक कृषिमा कृषक, बाली र प्रकृतिबीच एक अर्कालाई स्वाभाविक रुपमा बुझ्न सहकार्य र सन्तुलन कायम गरिन्छ”, निर्देशक खनियाँले भन्नुभयो ।

रासायनिक खेतीलाई परिवर्तन गरेर वैदिक खेती गर्ने हो भने प्राङ्गारिकका सबै प्रक्रियाका साथसाथै वैदिक कृषिका पनि प्रविधि संलग्न गर्नुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार वैदिक प्राङ्गारिक खेती र यसको प्रमाणीकरणका लागि निम्नअनुसारको विधि अपनाउनु पर्दछ । 

वैदिक कृषिको अभ्यासमा परिवारको जीवनस्तर धान्नेगरी कृषकलाई उचित मूल्यस उत्पादनको गुणस्तर जाँचस बाली भित्र्याउने, सामान्य प्रशोधन गर्ने, भकारीमा राख्नेस घर पालुवा जनावरको व्यवस्थापन र जनावरको अधिकारस उत्पादनको भण्डारण, प्रशोधन, ह्यान्डलिङ र लेबलिङस दिगो, पर्यावरणीय, र ऊर्जा संरक्षणयुक्त कृषि प्रविधिको उपयोगस महर्षि स्थापत्य (स्थान वेद), महर्षि वैदिक स्वास्थ्य (आयुर्वेद) विधि प्रयोग र चेतना(आधारित शिक्षाको प्रयोगलगायत सुनिश्चित गरिएको हुन्छ । 

महर्षि वैदिक कृषिले कृषक, परिवार, समाज, वातावरण र मातृभूमि सबै प्राथमिक हितग्राही हुनुपर्छ भन्ने मान्यता राख्दछ । जीवनका चार वैदिक उद्देश्यहरू धर्म (उपयुक्त पेसा जसले जीवनलाई सर्वोच्च स्थानमा कायम राख्छ), अर्थ (सम्पन्नता), काम (कृषक र उसको परिवारका लागि इच्छाको पूर्ति) र मोक्ष (जीवनमा सर्वोच्च आदर्शहरूको पूर्ति र व्यक्तिगत विकासको उच्च उपलब्धि) कृषकले आफ्नै पौरखले सम्पन्न गर्न पाउनुपर्छ । कृषि पेसा अपनाइसकेपछि यसबाटै जीवन सम्पन्न हुनुपर्छ भन्ने महर्षि वैदिक कृषिको मान्यता हो ।

तथ्याङ्कअनुसार नेपालमा ६६ प्रतिशत जनसङ्ख्या कृषिमा आधारित छन् । यति धेरै कृषक हुँदा पनि विदेशबाट किनेर नल्याउने हो भने नेपालीलाई खान पुग्दैन । यसमा धेरै कारण छन् । तीमध्ये पहिलो कृषि पेसालाई सम्मानजनक पेसा बनाउन नसक्नु रहेको वैदिक कृषिका निर्देशक खनियाँले बताउनुभयो । 

दोस्रो युवा पुस्ताको पलायनका साथसाथै आधुनिक कृषिका नाममा बीउबिजन, मल, किटनाशक रासायनका लागि परनिर्भर हुँदै जाँदा स्थानीय कृषि उत्पादन र प्रशोधन महँगो हुँदै जानु, खेतीप्रति कृषकको वितृष्णा बढ्दै जानुलगायत पनि यसका कारण रहेका उहाँको भनाइ छ । 

रासायनिक खेती र प्राङ्गारिक खेतीमध्ये कुन चाहिँ विधि उपयुक्त छ भनेर सबैका आ-आफ्नै तर्क छन् । तर अध्ययन(अनुसन्धानले देखाएअनुसार माटो, वातावरण र मानव स्वास्थ्यका लागि घातकसिद्ध भएको रासायनिक विधिभन्दा उपलब्ध प्रविधिको सुविधा उपयोग गरी स्थानीय स्रोतसाधन, ज्ञान अभ्यासमा आधारित प्राङ्गारिक विधि नै उपयुक्त भएको निष्कर्ष वैज्ञानिक अनुसन्धानले पनि पुष्टि गरिसकेको खनियाँले जानकारी दिनुभयो । 

कार्यक्रममा फाउन्डेसनले प्रकाशन गरेको ‘वैदिक कृषि’ नामक पुस्तक लोकार्पण पनि गरिएको थियो । उक्त पुस्तक निर्देशक खनियाँले लेख्नुभएको हो । रासस