काठमाडौँ, वैशाख २८ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गरेको छ । उक्त बोर्डले गत चैत महिनामा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आज सोमबार राति सार्वजनिक गरेको हो ।

चैतमा सञ्चालन भएको एसईईमा परीक्षामा नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी थिए । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नियमिततर्फ सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ अर्थात् उत्तीर्ण भएका छन् ।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार २ लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण भएका छन् भने मापदण्ड अनुसार १ लाख ४६ हजार ५०७ विद्यार्थी अनुत्तीर्ण भएका छन् । यस वर्षको कुल उत्तीर्ण प्रतिशत ६५.९८ रहेको बोर्डले जनाएको छ ।

सार्वजनिक नतिजाअनुसार ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३९२ रहेको छ । त्यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउने ८० हजार ३७२ छ भने २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउने ९४ हजार २२२ र २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन् ।

यस्तै २ देखि २ दशमलव ४ जीपीए ल्याउने पाँच हजार १९० विद्यार्थी रहेका छन् भने १ देखि २ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या सात रहेको बोर्डले जनाएको छ ।

यसअघि २०८१ सालको एसईई नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस वर्ष उक्त प्रतिशत बढेर ६५.९८ पुगेको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष ४.१७ प्रतिशत बिन्दुले नतिजामा सुधार भएको बोर्डले जनाएको छ ।